शीर्षकहरू

हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा पौने २१ लाख कित्ता आईपीओ ल्याउँदै

हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा पौने २१ लाख कित्ता आईपीओ ल्याउँदै

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्न आवेदन दिएको छ।

कम्पनीले प्रति कित्ता ३५८ रुपैयाँ ८५ पैसामा २० लाख ७५ हजार कित्ता सेयर जारी गर्ने प्रस्तावसहित नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

प्रिमियम दरमा सेयर निष्काशनमार्फत कम्पनीले कुल ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटललाई दिइएको छ।

बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ।

​​​​​​​हुलास फिनसर्भको दोस्रो त्रैमासिक नाफा ९९.३३ प्रतिशतले वृद्धि

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा खुद नाफामा प्रभावशाली वृद्धि गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणअनुसार पुस ३० सम्मको अवधिमा खुद नाफा ९९.३३ प्रतिशतले बढेर १३ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ६ करोड ७४ लाख रुपैयाँ थियो।

त्यसैगरी, कम्पनीको कर्जा तथा अग्रिम पोर्टफोलियो १० अर्ब ६४ करोड ८० लाख रुपैयाँमा पुगेको छ, जुन गत वर्षको तुलनामा १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। यस अवधिमा ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात २२९ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

वित्तीय विवरणअनुसार सञ्चालन नाफा २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने नन–पर्फर्मिङ लोन अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ। यसले कम्पनीको सम्पत्तिको गुणस्तरमा सुधार भएको संकेत गरेको छ।

कम्पनीले भनेको छ, “सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणालीले प्रमुख वित्तीय सूचकांकमा सकारात्मक प्रभाव पारेको छ।”

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२.३९ रुपैयाँ, इक्विटी प्रतिफल १६.५६ प्रतिशत र नेटवर्थ प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ। कम्पनीले पोर्टफोलियो गुणस्तर, सञ्चालन दक्षता र दीर्घकालीन वृद्धिमा केन्द्रित हुँदै सफलतापूर्वक काम गरेको जनाएको छ।