काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्तिहरू र धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार लिलाम प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र ग्राहक–मैत्री बनाउन उक्त डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको हो। पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने व्यवस्था गरिएको छ। यसले खरिद गर्न इच्छुक व्यक्तिहरूलाई सम्पत्तिको अवस्थाबारे विस्तृत जानकारी प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ।
लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा समावेश क्युआर कोड स्क्यान गरी सम्बन्धित पोर्टलमा प्रवेश गर्न सकिनेछ। त्यहाँ उपलब्ध सम्पत्ति विवरणभित्रै राखिएको म्यासेज बक्समार्फत इच्छुक ग्राहकले आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी थप जानकारीका लागि सन्देश पठाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको छ।
बैंकले उक्त पोर्टलमा बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरू सम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ।
डिजिटल माध्यमबाट लिलाम प्रक्रिया सम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउँदै बैंकले पारदर्शिता अभिवृद्धि गर्नुका साथै सम्पत्ति खरिद–बिक्री प्रक्रियालाई सरल बनाउने लक्ष्य राखेको छ। इच्छुक ग्राहकलाई पोर्टलमार्फत उपलब्ध विस्तृत विवरण अध्ययन गरी अवसरको लाभ लिन बैंकले आग्रह गरेको छ।
आर्थिकन्यूज