वीरगञ्ज । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन्। नेपाल पत्रकार महासंघको आयोजनामा वीरगञ्जमा सम्पन्न ‘निर्वाचन रिपोर्टिङ र आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमा विशेष जोड दिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचनको समयमा जनतामा सूचनाप्रति चासो र अपेक्षा उच्च हुने उल्लेख गर्दै सञ्चारमाध्यमलाई अझ जिम्मेवार बन्न आग्रह गरे। आचारसंहिता स्वयंले पालना गर्ने नियम भएको बताउँदै उनले यसको कार्यान्वयन भए मात्र यसको सान्दर्भिकता रहने धारणा राखे। निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत मधुसुदन आचार्यले प्रचलित कानुनले दिएको अधिकार र सीमाबारे स्पष्ट बुझाइ भए आचारसंहिता उल्लंघन नहुने बताए। उनले अपुष्ट र हतारमा सम्प्रेषित समाचारले समाजमा भ्रम र अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिँदै आचारसंहिता वर्षभरि नै आत्मसात् गर्नुपर्नेमा जोड दिए।
महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकारिताको मर्यादा र विश्वसनीयता जोगाउन महासंघले विभिन्न अभियान सञ्चालन गरिरहेको जानकारी दिए। विश्व पत्रकार संघका सहसचिव दीपेन्द्र चौहानले ‘पेड न्युज’ प्रवृत्तिले निष्पक्ष पत्रकारितामा चुनौती थपेको उल्लेख गरे।
केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले २०५० सालको वीरगञ्ज घोषणापत्रले आचारसंहिताको आधार तय गरेको स्मरण गराउँदै त्यसै भूमिमा उल्लंघन हुनु दुःखद हुने बताए।
महासंघकी उपाध्यक्ष नितु पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराले गरेका थिए भने स्वागत मन्तव्य पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनालले व्यक्त गरेका थिए। कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आर्थिकन्यूज