शीर्षकहरू

पाकिस्तानसँग चुनावी ‘सम्पर्क’को अडियो भाइरल,पर्सा–४ मा जालिम मियाँमाथि विदेशी प्रभावको आरोप, प्रतिस्पर्धा झन् तात्यो

पाकिस्तानसँग चुनावी ‘सम्पर्क’को अडियो भाइरल,पर्सा–४ मा जालिम मियाँमाथि विदेशी प्रभावको आरोप, प्रतिस्पर्धा झन् तात्यो

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी चुलिँदै जाँदा उम्मेदवार जालिम मियाँसँग जोडिएको एक कथित टेलिफोन संवाद सार्वजनिक भएपछि राजनीतिक माहोल थप तातिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको अडियो क्लिपमा आफूलाई पाकिस्तानका अख्तर सिद्दिकी बताउने व्यक्तिले जालिम मियाँसँग चुनावी सहयोगसम्बन्धी कुराकानी गरेको सुनिन्छ।

अडियोमा +९२३०८४१८५९५९ नम्बरबाट जालिम मियाँको मोबाइलमा फोन गरिएको दाबी गरिएको छ। संवादमा “जालिम मियाँ साहब सलाम, मैं अख्तर सिद्दिकी बोल रहा हूँ ” भन्दै मुस्लिम इस्लामिक संघको प्रचार समितिले चुनावमा सहयोग गर्ने उल्लेख गरिएको सुनिन्छ। काठमाडौंबाट केही व्यक्तिहरू आउने र उनीहरूसँग भेटघाट गर्न आग्रह गरिएको अडियोमा दाबी गरिएको छ।

त्यस्तै, उक्त संवादमा बाराको क्षेत्र नम्बर–४ मा मुस्लिम समुदायका दुई उम्मेदवार उठेकाले मत विभाजन हुन सक्ने चिन्ता व्यक्त गरिएको र समिम मियाँ अन्सारीलाई समर्थन गर्न अनुरोध गरिएको आशयसमेत सुनिन्छ। अडियोमा जालिम मियाँले काठमाडौंबाट आउने व्यक्तिहरूको सम्पर्क ह्वाट्सएपमा पठाउन आग्रह गरेको तथा समर्थनबारे सकारात्मक संकेत दिएको जस्तो सुनिन्छ।

तर उक्त अडियोको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। जालिम मियाँ पक्षले यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। निर्वाचनको संवेदनशील समयमा सार्वजनिक भएका यस्ता सामग्रीले मतदातामा भ्रम सिर्जना गर्न सक्ने भन्दै विश्लेषकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

पर्सा–४ मा यसपटकको प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएको छ। यहाँका दुई प्रमुख प्रतिस्पर्धी जालिम मियाँ र पूर्वमन्त्री रमेश रिजाल एउटै गाउँपालिका जगरनाथपुरका बासिन्दा हुन्। विकास, दलगत सिद्धान्त र एजेन्डाभन्दा उम्मेदवारको व्यक्तिगत छवि र विगतका विवादहरू नै चुनावी बहसको केन्द्रमा देखिएका छन्।

यसैबीच केही संवेदनशील मुस्लिम समुदायका व्यक्तिहरू पर्सा–४ क्षेत्रमा आएको समाचार बाहिरिएपछि प्रशासनले चासो देखाएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले उनीहरू आफ्ना नातागोता भेट्न मात्र आएको र चुनावअघि नै फर्किसकेको जानकारी दिएका छन्।

जालिम मियाँबारे भारतीय सञ्चारमाध्यमहरूले विगतमा विभिन्न आरोप लगाउँदै आएका समाचारहरू पनि पुनः चर्चामा आएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा गतिविधि र आईएसआईसँग सम्बन्ध रहेको आरोप भारतीय मिडियामा समय–समयमा प्रकाशित हुँदै आएको भए पनि ती आरोपहरू औपचारिक रूपमा पुष्टि भएका छैनन्।

निर्वाचन नजिकिँदै जाँदा विदेशी हस्तक्षेपजस्ता संवेदनशील विषय सार्वजनिक हुनु लोकतान्त्रिक प्रक्रियाका लागि चिन्ताको विषय मानिएको छ। यस्ता सामग्रीको सत्यता छानबिन गरी आधिकारिक निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

पर्सा–४ मा यसपटकको निर्वाचन केवल मतको प्रतिस्पर्धा मात्र नभई विश्वसनीयता, पारदर्शिता र उम्मेदवारको चरित्रमाथिको परीक्षणसमेत बनेको छ। मतदाताले भावनाभन्दा तथ्यमा आधारित निर्णय लिनुपर्ने विश्लेषकहरूको सुझाव छ।