शीर्षकहरू

निर्वाचनले पर्यटकको चहलपहल घट्यो, रारा क्षेत्र सुनसान

निर्वाचनले पर्यटकको चहलपहल घट्यो, रारा क्षेत्र सुनसान

मुगु । नेपालको चर्चित पर्यटकीय स्थल मुगुको रारा क्षेत्र हिजोआज सुनसान बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रारासम्म मानिसहरु नआउँदा रारा सुनसान बनेको हो ।

समुन्द्रय सतह देखि २९ सय ७२ मिटरको उचाइमा रहेको १०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र १६७ मिटर गहिरो रारा सिजन सुरु हुने बेलामा निर्वाचन परेकाले पर्यटकहरुको चहलपहल कम भएको हो ।

निर्वाचनका कारण आन्तरिक तथा वाह्या पर्यटकहरु घुम्न नआउँदा रारा ,माझघट्ट, सल्यारी, ताल्चा, लामाचौरमा रहेका होटल र घोडचढी व्यवसायी मारमा परेका छन् ।

रारा तालको हिजोआजको दृश्य, कञ्चन, सुनसान हिउँ परेको हिमालले चाँदी जस्तै टल्किरहेको देख्न सकिन्छ । हरिया सल्ला, धुपीका बिरुवाले फरक अनुभूति गराउने गर्छ । मंंसिरदेखि फागुन अन्तीमसम्म चिसो हुने वा हिउँ पर्ने सिजन भएकाले लगानी उठाउन हम्मे पर्ने गरेको व्यवसायीहरुको भनाइछ ।

रारा घुम्न आउने पर्यटकहरुलाई घोडबाट सवारी गराउने, भारी बोक्ने, घोडामा चढेर फोटा खिचाएर पर्यटकहरुलाई मनोरन्जन दिदै आएका घोडा ब्यवसायहरु नआउँदा रारा क्षेत्रमा रहेका दुई सय घोडा कामविहीन भएका छन् ।

रारामा दैनिक आधा दर्जन भन्दा बढी डुङ्गा चलाएर घर परिवार पाल्दै आएको डुङ्गा चालकहरु पनि पर्यटकहरु नआउदा घर परिवार चलाउन निकै समस्या भएको बताउँछन्।

वैशाखदेखि मंसिरसम्म रारा घुम्न आउने उपयुक्त सिजन भएको सो समय राम्रो आम्दानी हुनेगर्छ ।

वितेको ६ महिनामा रारा घुम्न आउने आन्तरिक पर्यटक ९ हजार ६५९, बिदेशी ८८ जना र सार्क राष्ट्रका ३४ पर्यटक गरी जम्मा ९ हजार ७८१ जना पर्यटहरुले रारा घुमेको अभिलेखमा रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।