काठमाडौं । माघ महिनामा देशभर ४ हजार ५६१ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको तथ्याङ्कले देखाएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा मात्रै बैंकिङ कसुरका १ हजार १७ मुद्दा दर्ता भएका छन्। यो कुल मुद्दाको २२ दशमलव २९ प्रतिशत हो।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धका ५६३ (१२.३४ प्रतिशत) मुद्दा दर्ता भएका छन्। यस्तै आत्महत्याका ४९४, लागुऔषधका ४३६, भवितव्य ज्यानका ३८० र चोरीका ३६४ मुद्दा दर्ता भएका छन्। ठगीका १६९ मुद्दा पनि प्रहरीमा पुगेका छन्।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्। उपत्यकामा मात्रै १ हजार ३३७ मुद्दा दर्ता भएका छन्।
कोशी प्रदेशमा ७७५, मधेस प्रदेशमा ७०४, लुम्बिनीमा ५७३, बागमतीमा ३८८, गण्डकीमा ३६७, सुदूरपश्चिममा २५८ र कर्णालीमा सबैभन्दा कम १५९ मुद्दा दर्ता भएका छन्।
आर्थिकन्यूज