शीर्षकहरू

ओरिएण्टल इन्स्योरेन्सले सुरु गर्‍यो डिजिटल बीमा प्लेटफर्म

ओरिएण्टल इन्स्योरेन्सले सुरु गर्‍यो डिजिटल बीमा प्लेटफर्म

काठमाडौं। ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सेवाको आधुनिकीकरणलाई लक्ष्य गर्दै उन्नत डिजिटल बीमा प्लेटफर्म सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नयाँ प्रणालीमार्फत ग्राहकले अनलाइनबाटै बीमा पोलिसी खरिद, डिजिटल माध्यमबाट दाबी दर्ता तथा दाबीको अवस्था ‘रियल टाइम’मा हेर्न सक्नेछन्।

प्लेटफर्ममा दाबीसम्बन्धी आवश्यक कागजात अपलोड गरी पेश गर्ने सुविधा पनि समावेश गरिएको छ। कम्पनीले नियुक्त गरेका सर्वेयरहरूले समेत आफ्नो सर्वे प्रतिवेदन सुरक्षित पोर्टलमार्फत प्रत्यक्ष अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ, जसले दाबी प्रक्रिया छिटो र समन्वयलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले डिजिटल पहलले नवप्रवर्तन, सेवा उत्कृष्टता र डिजिटल सशक्तीकरणप्रतिको प्रतिबद्धता झल्काउने बताए। “सबै प्रयोगकर्ताका लागि सुरक्षित तथा भरपर्दो कारोबार सुनिश्चित गर्न प्लेटफर्ममा विशेष सुरक्षाको प्रबन्ध गरिएको छ,” उनले भने।

कम्पनीका अनुसार नयाँ प्रणालीले शाखा कार्यालयमा भौतिक उपस्थितिको आवश्यकता घटाउने, कागजी प्रक्रिया कम गर्ने र सेवा पहुँचलाई सहज बनाउनेछ। बीमा सेवा जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सकिने गरी प्लेटफर्म विकास गरिएको कम्पनीको दाबी छ।

नेपालको बीमा बजारमा डिजिटल रूपान्तरण तीव्र बन्दै गएको सन्दर्भमा ओरिएण्टलको यो पहललाई सेवा पारदर्शिता, दक्षता र पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कम्पनीले डिजिटल युगमा ग्राहकका परिवर्तित आवश्यकताअनुसार सेवा परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।