शीर्षकहरू

ओटीसी बजारमा ६ महिनामै डेढ अर्बको कारोबार, होटल र हाइड्रोको उच्च डिमाण्ड

ओटीसी बजारमा ६ महिनामै डेढ अर्बको कारोबार, होटल र हाइड्रोको उच्च डिमाण्ड

काठमाडौंं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत सञ्चालन हुँदै आएको ओभर द काउन्टर (ओटीसी) बजारमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यसअवधिमा होटल, जलविद्युत, स्टिल र ब्रोकर कम्पनीतर्फ लगानीकर्ताको उल्लेख्य चासो देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार दोस्रो त्रैमाससम्म चालु आवको ६ महिनामा २५ कम्पनीका ३३ कारोबारमार्फत १ करोड २६ लाख ९७ हजार ४८८ कित्ता शेयर किनबेच भएको छ ।

सबैभन्दा ठूलो कारोबार होटल फरेस्ट इन लिमिटेड को भएको छ । कम्पनीका १७ लाख ४० हजार कित्ता शेयर करिब २१ करोड ६२ लाख रुपैयाँमा किनबेच भए, प्रतिकित्ता मूल्य १२४ रुपैयाँभन्दा माथि कायम भयो। बुढानीलकण्ठ हेरिटेज लिमिटेड का करिब ४२ लाख ४२ हजार कित्ता तीन कारोबारमा ६३.१७ देखि ८० रुपैयाँसम्मका दरमा कारोबार हुँदा झन्डै १७ करोड ३९ लाख रुपैयाँ बराबरको लेनदेन भएको छ।

ऊर्जा क्षेत्रमा इलेक्ट्रो पावर कम्पनी लिमिटेड का १४ लाख कित्ता शेयर १४ करोड १४ लाख रुपैयाँमा कारोबार भए। सानिमा हाइड्रोपावर लिमिटेडका शेयर ३ सय रुपैयाँसम्मका दरमा किनबेच हुँदा ९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भयो। सर्वोत्तम स्टिल लिमिटेड का तीन कारोबारमा १३० देखि १४०.९० रुपैयाँसम्मका दरमा १० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

डिजिटल सेवा प्रदायक इसेवा लिमिटेड को २ लाख ९२ हजार ६ सय कित्ता शेयर प्रतिकित्ता १७०.१८ रुपैयाँमा कारोबार भएको छ। ब्रोकर र क्यापिटल कम्पनीतर्फ अनलाइन सेक्युरिटिज लिमिटेड को ९ करोड २२ लाख रुपैयाँ र प्रोपर्टी विजार्ड लिमिटेडको ७ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

ओटीसी बजारमा एउटै कम्पनीका शेयर फरक–फरक दरमा कारोबार हुने गरेको छ। उदाहरणका लागि, अदार मल्टी इन्भेष्टमेन्ट कम्पनीको एक कारोबारमा १३२.४७ रुपैयाँ र अर्कोमा ९१.०७ रुपैयाँ प्रतिकित्ता दर कायम भएको छ। गज्र्याङ उपत्यका हाइड्रोपावर १३० र ११२.५० रुपैयाँमा कारोबार भयो। हालै आईपीओ बाँडफाँट भएको होटल फरेस्ट इन १०० रुपैयाँ र १२४.२९ रुपैयाँमा किनबेच भएको विवरण छ।

मूल्यका हिसाबले फेडरल रि इन्स्योरेन्स ब्रोकर लिमिटेड ले प्रतिकित्ता १,०१० रुपैयाँमा २५ हजार कित्ता कारोबार गर्दै उच्चतम दर कायम गरेको छ। टाइम फर्मासेटिकल्स ३६५ रुपैयाँ, छिमेकी बजार व्यवस्था कम्पनी ४१२ रुपैयाँ, अल्फा क्यापिटल १८० रुपैयाँ र सोलार फार्म १७० रुपैयाँमा कारोबार भएका छन्।

नेप्सेले सञ्चालन गर्ने ओटीसी बजारमा क्रेता–बिक्रेताबीच सहमतिमै मूल्य तय हुन्छ। तर त्यही मूल्यले कानुनी मान्यता पाउने र पुँजीगत लाभकर गणनामा आधार बन्ने भएकाले बजारलाई औपचारिक कारोबारको विकल्पका रूपमा हेरिएको छ। सूचीकृत हुन नसकेका वा प्रक्रियामा रहेका कम्पनीका लागि ओटीसी बजारले तरलता र मूल्य खोजीको माध्यम उपलब्ध गराइरहेको छ।