काठमाडौं । आगामी चुनाव नजिकिँदै गर्दा सेयर बजारमा लगानीकर्ताको गतिविधि न्यून रहेको छ। कुन दलको सरकार बन्नेछ, आगामी नीतिहरू कस्तो हुनेछन् र सरकारले सेयर बजारलाई प्राथमिकता दिने नीति अपनाउनेछ कि छैन भन्ने अनिश्चितताका कारण लगानीकर्ताहरू अहिले सक्रिय रुपमा लगानी गर्न हिचकिचाइरहेका छन्।
यसका प्रभाव बजारमा प्रत्यक्ष देखिएका छन्। दैनिक कारोबार रकम घटेको छ भने प्रमुख इन्डेक्समा ठूलो उतारचढाव छैन। यद्यपि, सरकारले वित्तीय बजारलाई सहयोग गर्न केही सकारात्मक पहलहरू गरेको छ। बैंकिङ प्रणालीमा ब्याजदर घटाइएको छ, जसले सेयरधितो कर्जालाई आकर्षक बनाएको छ। साथै, सेयरधितो कर्जामा अधिकतम सीमा घटाइ सहज पहुँच सुनिश्चित गरिएको छ।
ब्रोकरहरूले मार्जिन सेवा सुरु गरेपछि लगानीकर्तालाई आवश्यक पुँजीको पहुँच बढेको छ। यी कदमहरू हुँदाहुँदै पनि चुनावको परिणाम र आगामी नीतिगत दिशामा स्पष्टता नभएसम्म लगानीकर्ताको मनोवृत्ति “वेट एन्ड वाच” रहिरहेकाले बजारमा सीमित तर स्थिर उतारचढाव देखिएको छ।
वित्तीय बजारमा बैंकिङ प्रणालीको ब्याजदर घटाइएको र सेयरधितो कर्जा सहज उपलब्ध गराइएको भए पनि चुनावपूर्व अनिश्चितताले दैनिक कारोबारमा सीमित तर स्थिर उतारचढावको स्थिति सिर्जना गरेको छ। चुनावपछि स्थिर सरकार गठन भइ बजारमैत्री नीतिहरू लागू भएमा सेयर बजारमा पुनः सक्रियता र सकारात्मक उतारचढाव देखिने सम्भावना छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। लगातार तेस्रो दिन उकालो लागेको बजारमा सेन्सेटिभ इन्डेक्स १.९३ अंक, फ्लोट इन्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट ०.६२ अंकले बढेका छन्।
तर सूचक बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३३५ कम्पनीका ४४ हजार २०४ पटकका कारोबारबाट ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ५३ हजार कित्ता शेयर किनबेच भएका छन्।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। निर्जीवन बीमा उपसमूह सर्वाधिक १.०९ प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहमा सामान्य गिरावट देखिएको छ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भई प्रतिकित्ता ५८४ रुपैयाँ ५० पैसामा बन्द भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५३ रुपैयाँ १० पैसा बढी हो। रिलायन्स स्पिनिङ मिल्सको शेयर ९ प्रतिशतभन्दा बढी बढ्दा, हिम स्टार उर्जा कम्पनीको मूल्य करिब ६ प्रतिशतले उकालो लागेको छ। घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कममा सीमित रहेको छ।
कारोबार रकमको आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आर्थिकन्यूज