नवलपरासी । बर्दघाटमा आयोजित लगानी फोरममा उद्योगी र लगानीकर्ताले बर्दघाट एसएमई भिलेजलाई नवलपरासीको औद्योगिक विकासको आधार बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा भएको फोरममा साना तथा मझौला उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक वृद्धि सम्बन्धी छलफल भएको थियो।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमई भिलेजलाई मोडल ग्रामको रूपमा अगाडि बढाएर यस क्षेत्रमा साना उद्योगको विकास गर्न सकिने बताए। उनले औद्योगिक ग्राम स्थापना नगरे उद्योगमा लगानी सीमित हुने भन्दै औद्योगिक ग्रामको महत्व औँल्याए।
पूर्व सचिव अर्जुन पोखरेलले निजी क्षेत्रसँग सहकार्य बिना औद्योगिक ग्राम सफल नहुने बताए भने निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उद्योग स्थापना गर्दा धुलो र धुवाका समस्या सामान्य रूपमा लिनुपर्ने र रोजगारी तथा अर्थतन्त्रको विकास हुने उहाँको भनाइ थियो।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बर्दघाटमा साना तथा ठूला उद्योग सहकार्यमा स्थापना गर्न सकिने बताए। यसले उत्पादन मूल्य अभिवृद्धि, लागत घटाउने र रोजगारीमा सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा उद्योग स्थापनाका लागि भौगोलिक पहुँच, पूर्वाधार र दक्ष जनशक्तिको उपलब्धता महत्वपूर्ण रहेको उल्लेख गर्दै विभिन्न क्षेत्रका उद्योग र सेवा, कृषि, पर्यटन, लघु उद्योग, गोदाम, ढुवानी, उर्जा तथा हरित उद्योग स्थापनामा यस क्षेत्रमा सम्भावना देखिएको जानकारी दिइयो।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले युवालाई विदेश पलायनबाट रोक्न उद्यमशीलता प्रबद्र्धन आवश्यक रहेको बताए। सो अन्तरक्रियामा सयभन्दा बढी उद्योगी र व्यवसायीको सहभागिता रहेको थियो।

आर्थिकन्यूज