ललितपुर । निक्षेप तथा कर्जा सुरक्षण कोष र United Nations Development Programme (यूएनडीपी)को सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला ललितपुरस्थित Hotel Squareमा सम्पन्न भएको छ। कार्यशालामा निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा ‘क’ वर्गका वाणिज्य बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कोष, यूएनडीपी र छनोट गरिएका नौ स्थानीय तहको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र सर्वसाधारणको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले एकल (ऋणीगत) कर्जा सुरक्षण कार्यक्रम नमुना परियोजनाका रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको जनाइएको छ। सोही सन्दर्भमा कर्जा प्रदायक वाणिज्य बैंकहरूबाट सुझाव संकलन गर्न कार्यशालाको आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकका उच्च व्यवस्थापकहरूले कोष र यूएनडीपीको सहकार्यमा तयार गरिएको स्किमको मस्यौदामाथि सुझाव प्रस्तुत गरेका थिए। कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले मस्यौदामाथि प्राप्त सुझावहरूको थप छलफल गरी उपयुक्त सुझाव समेटेर स्किमलाई अन्तिम रूप दिइने जानकारी दिए।
आर्थिकन्यूज