शीर्षकहरू

वल्डलिंक कम्युनिकेशन्सको सहकार्यमा सिमरामा ‘I Jatra’  कार्यक्रम सम्पन्न

वल्डलिंक कम्युनिकेशन्सको सहकार्यमा सिमरामा ‘I Jatra’  कार्यक्रम सम्पन्न

सिमरा । वल्डलिंक कम्युनिकेशन्स को सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तथा इन्जिनियर्स विदाउट बोर्डर्स सँगको कार्यान्वयन सहकार्यमा सिमरास्थित श्री नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालय मा  ‘I Jatra’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

‘I Jatra’ iLab परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको हो। कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार र खेल गतिविधिसम्बन्धी सिर्जनात्मक उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए।

करिब छ महिनाअघि विद्यार्थीहरूले iLab  तालिम लिएका थिए। तालिमपछिको निरन्तर अभ्यास, शिक्षकको मार्गदर्शन र समूहगत कार्यका आधारमा कार्यक्रम आयोजना गरिएको हो। विगत दुई वर्षदेखि वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत iLab कार्यक्रम ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ। यसअघि ललितपुर र दार्चुलामा कार्यक्रम सम्पन्न भइसकेको छ।

कार्यक्रममा बोल्दै वल्डलिंककी सीएसआर निर्देशक अनुपा भण्डारी जालानले युवाहरू ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। विद्यार्थीलाई केवल किताबीय ज्ञानमा सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

उनले स्थानीय सरकार तथा सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा सहकार्य गर्न आग्रह गरिन्। यस्तो सहकार्यबाट विद्यालयस्तरमै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्म प्रत्यक्ष अनुभव हासिल गरेका छन्। यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको आयोजकले जनाएको छ।

वल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

null