काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ प्रावधान लागू गरेको छ। केन्द्रीय बैंकले ‘सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)’ अन्तर्गत परिच्छेद ५ को दफा ५.१६.१ कार्यान्वयनका लागि थप व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब सरकारी खाताबाट हुने भुक्तानी वित्तीय भुक्तानी प्रणालीमार्फत वा अकाउन्ट पेयी चेकमार्फत मात्र गर्नुपर्नेछ। यस सम्बन्धमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको जनाएको छ। समय–समयमा राष्ट्र बैंकबाट जारी हुने निर्देशनअनुसार यी व्यवस्था परिमार्जन हुन सक्ने उल्लेख गरिएको छ।
यस्तो छ नयाँ प्रावधान
नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर प्रयोग गर्नुपर्नेछ।
कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालय आफैंले खातामा जम्मा गर्न पठाउँदा बैंकको पछाडि कार्यालयको स्पष्ट छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ।
तर, सोही चेक सम्बन्धित कार्यालयका लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले खातामा जम्मा गर्दा छाप अनिवार्य हुने छैन।
क्लियरिङमार्फत प्राप्त चेकको रकम भने जसको नाममा चेक खिचिएको हो, सोही व्यक्तिको नामको खातामा मात्र जम्मा गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार सरकारी भुक्तानी प्रणालीलाई थप पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान ल्याइएको हो।
आर्थिकन्यूज