शीर्षकहरू

राष्ट्र बैंकको वित्तीय आधार थप मजबुत, बाह्य सम्पत्तिमा ऐतिहासिक उछाल

विदेशी मुद्रा सञ्चितिमा उच्च सुधार, आन्तरिक सम्पत्तिमा पनि विस्तार

राष्ट्र बैंकको वित्तीय आधार थप मजबुत, बाह्य सम्पत्तिमा ऐतिहासिक उछाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको बाह्य सम्पत्ति एकै वर्षमा १०८ प्रतिशतभन्दा धेरैले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपाल माइक्रोइकोनोमिक इन्डिकेटर २०२५’ अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बैंकको खुद बाह्य सम्पत्ति १ खर्ब ४७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७० अर्ब ४४ करोड रुपैयाँ थियो।

यो वृद्धिलाई पछिल्लो आठ वर्षकै उच्च मानिएको छ। यसअघि आर्थिक वर्ष २०७७/७८ मा ३२ प्रतिशतले गिरावट आएको बाह्य सम्पत्ति त्यसपछि निरन्तर बढ्दो क्रममा थियो। पछिल्लो वर्षको तीव्र वृद्धिलाई रेमिट्यान्स आप्रवाहमा सुधार, शोधनान्तर बचत सकारात्मक हुनु र आयातमा सुस्तता देखिनु जस्ता कारणले टेवा दिएको विश्लेषण गरिएको छ।

राष्ट्र बैंकको कुल सम्पत्ति ६ खर्ब ४६ अर्बले बढ्यो

केन्द्रीय बैंकद्वारा प्रकाशित विवरण अनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व ३३ खर्ब १७ अर्ब ४९ करोड ५७ लाख २५ हजार ९६६ रुपैयाँ पुगेको छ।

गत असार मसान्तमा कुल सम्पत्ति २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ३९ हजार ८०३ रुपैयाँ रहेकोमा सात महिनामै करिब ६ खर्ब ४६ अर्ब रुपैयाँले वृद्धि भएको हो।

विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य विस्तार

वित्तीय विवरणअनुसार बैंकको सम्पत्तिको मुख्य हिस्सा विदेशी मुद्रा सम्पत्तिले ओगटेको छ। माघ २९ गतेसम्म यस्तो सम्पत्ति ३२ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ, जुन असार मसान्तको २५ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

विदेशी मुद्रा सम्पत्तिअन्तर्गत विदेशी सुरक्षणमा गरिएको लगानी २१ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। विदेशी बैंकहरूमा मुद्दती निक्षेप ६ खर्ब ४६ अर्ब र सुनको प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ। सुनको प्रमाणपत्रमा लगानी असारको तुलनामा दोब्बरभन्दा बढीले बढेको तथ्यांकले देखाउँछ।

सरकारी निक्षेपमा ठूलो उछाल

दायित्वतर्फ बजारमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ, जुन असारको तुलनामा करिब २६ अर्ब रुपैयाँ बढी हो।

सबैभन्दा उल्लेखनीय वृद्धि भने सरकारी निक्षेपमा देखिएको छ। असार मसान्तमा ७० अर्ब ८३ करोड रुपैयाँ रहेको सरकारी निक्षेप माघ मसान्तसम्म ३ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ३ खर्ब २२ अर्ब रुपैयाँमा सीमित छ, जुन असारको तुलनामा केही घटेको हो।

आन्तरिक सम्पत्तिमा पनि विस्तार

बाह्य क्षेत्र सुदृढ बन्दै जाँदा राष्ट्र बैंकको खुद आन्तरिक सम्पत्ति पनि बढेर ७० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ११.५ प्रतिशतले बढी हो। सरकारी ट्रेजरी बिल, ऋणपत्र, बैंक तथा वित्तीय संस्थालाई दिइएको कर्जा लगायतका लगानी जोडेर आन्तरिक सम्पत्ति गणना गरिन्छ।

जगेडा कोष सुदृढ

राष्ट्र बैंकको जगेडा कोष ६ खर्ब ७१ अर्ब रुपैयाँबाट बढेर ९ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमै यथावत छ।

स्थानीय मुद्रातर्फको सम्पत्ति १ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ, जसमा सुन तथा चाँदी ५५ अर्ब ४१ करोड र सरकारी सुरक्षणमा लगानी १५ अर्ब २८ करोड रुपैयाँ समावेश छ।

निजी क्षेत्रको लगानी वातावरण खुम्चिँदा बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित रूपमा कर्जा प्रवाह गर्न नसक्दा केन्द्रीय बैंकमा मौज्दात बढिरहेको छ। यसले राष्ट्र बैंकको वित्तीय आधारलाई बलियो बनाए पनि अर्थतन्त्रमा लगानी विस्तार चुनौतीपूर्ण रहेको संकेत गर्छ।

राष्ट्र बैंकका अधिकारीहरूले सार्वजनिक गरेको अपरिष्कृत तथ्यांकले बाह्य क्षेत्र सन्तुलन सुधारिएको र केन्द्रीय बैंकको वित्तीय स्थिति सुदृढ बन्दै गएको देखाएको छ।