काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो।
कुल रकममध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ९५ करोड १२ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३१ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा मुद्दती निक्षेपका रूपमा राखिनेछ।
उक्त लगानी सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म, ३६६ दिनका लागि रहने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरूलाई आह्वान गरेको छ।
कस्ता संस्थाले पाउँछन् निक्षेप ?
राष्ट्र बैंकले मुद्दती निक्षेपका लागि केही अनिवार्य सर्त तोकेको छ। निक्षेप लिन चाहने संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।
त्यस्तै, खुद तरल सम्पत्ति न्यूनतम सीमाभन्दा कम नभएको, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको तथा पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्था भए त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। समस्याग्रस्त घोषणा गरिएको संस्था भए त्यस्तो घोषणा फुकुवा भएको पनि कम्तीमा ६ महिना नाघेको हुनुपर्नेछ। साथै, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्तसमेत राखिएको छ।
केन्द्रीय बैंकको यो निर्णयले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनसँगै उपदान तथा पेन्सन कोषको रकम सुरक्षित तथा प्रतिफलमुखी रूपमा परिचालन गर्ने उद्देश्य राखेको जनाएको छ।
आर्थिकन्यूज