काठमाडाैं । हाेली पर्व मनाउँदा निर्वाचन चिन्ह र उम्मेदवारका तस्वीर भएकाे कपडा लगाउन नपाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै हाेली पर्वमा निर्वाचन चिन्ह र उम्मेदवारका तस्वीर अंकित भेष्ट, टि-सर्ट, कमिज, गम्छा, लगायतका कपडाहरु प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको जानकारी दिएकाे छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै प्रशासनले यस्ताे जानकारी गराएकाे हाे । निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि-सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने व्यहोरा उल्लेख गरेको छ ।
यस्तै प्रशासनले विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिला / भड्किला कार्यक्रमहरू हुने गरेको उल्लेख गरेकाे छ । सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको । तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल कार्य नगर्न पनि प्रशासनले भनेकाे छ ।
यसका साथै कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जवरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन पनि प्रसासनले अनुराेध गरेकाे छ ।

आर्थिकन्यूज