शीर्षकहरू

काठमाडौं–९ निर्वाचन : पुराना दलप्रति असन्तोष, नयाँ विकल्पप्रति बढ्दो आकर्षण

काठमाडौं–९ निर्वाचन : पुराना दलप्रति असन्तोष, नयाँ विकल्पप्रति बढ्दो आकर्षण

काठमाडौं । फागुन २१ नजिकिँदै जाँदा काठमाडौं–९ अन्तर्गतका काठमाडौं, चन्द्रागिरी र नागर्जुन नगरपालिकाका बस्तीहरूमा चुनावी तापक्रम बढ्दो छ । कामपाका १२, १४, २१ र २२ नम्बर वडाका टेकु, कुलेश्वर, बल्खु, रविभवन, इकुबहाल, ताहचल, ज्याबहाल, लगनटोल, गणबहाल र टेखबहालका गल्लीहरू बिहानैदेखि झण्डा र पोस्टरले सजिएका छन् । चिया पसल र किराना पसल अगाडि उम्मेदवारका चर्चा चलिरहेका छन् । युवा मतदाता सामाजिक सञ्जालमा बहस गरिरहेका छन् भने ज्येष्ठ नागरिक विगतका चुनाव सम्झँदै यसपटकको निर्णयबारे छलफलमा छन्।

चन्द्रागिरी नगरपालिकाका १, १२, १३, १४ र १५ नम्बर वडाअन्तर्गत दहचोक, बलम्बु, नैकाप र तीनथानाका चोकहरूमा घरदैलो अभियान तीव्र बनेको छ । साँझपख टोलभेलामा उम्मेदवारहरू आफ्ना एजेन्डा सुनाइरहेका छन्। स्थानीयहरू विकास, रोजगारी र सुशासनका मुद्दा उठाइरहेका छन्।

नागर्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडाका टौखेल, रामकोट, भीमढुंगा र जोगीखुटी क्षेत्रमा पनि उस्तै चहलपहल छ । खेतका डिलदेखि बजारका चोकसम्म चुनावकै चर्चा छ । कतै पुरानाप्रति असन्तोष सुनिन्छ, कतै नयाँप्रति उत्सुकता । काठमाडौं–९ का यी तीन नगरपालिकामा अहिले एउटै प्रश्न गुञ्जिरहेको छ, यसपटकको मतले के साँच्चै नयाँ दिशा तय गर्नेछ ?

null

यही माहोलमा नागर्जुनका ६२ वर्षीय नवराज महर्जन पनि निर्वाचनबाट उत्साहित देखिन्छन् । यस पटक मुलुकमा ठूलै परिवर्तन हुने उनको अपेक्षा छ । हामीले सोध्यौं, तपाईले आफ्नो क्षेत्रमा कस्तो खालको उम्मेदवार आइदियोस् भन्ने चाहनु हुन्छ ? उनले ढिला नगरी भने, “यस पटक घण्टीलाई हेर्ने हो ।” हामीले थप प्रश्न गर्न नपाउँदै उनी अलि भावुक हुँदै थपे, “पुराना दलहरुले रबी लामिछानेलाई दुःख दिए । केही दोष नहुँदा पनि जेल र नेल पुराए । अब भ्रष्टाचारीको पत्ता साफ हुनुपर्छ ।” हामीले फेरि सोध्यौं, तपाईको क्षेत्रमा को को उम्मेदवार हुनुहुन्छ, थाहा छ ? उनले दृढ स्वरमा भने, “जे सुकै होस् म त यस पटक घण्टीलाई नै भोट दिने हो । पुराना भ्रष्टाचारीलाई साफ पार्ने हो । यिनीहरुको अत्याचार बढी भयो ।”

null

नागर्जुनकी हिमा तामाङ पनि यस पटकको निर्वाचनको नतिजा हेर्न आतुर छिन् । कसलाई भोट दिने भन्ने विषयमा उनले मनस्थिति भने बनाएकी छैनन् । तर, नयाँलाई भोट दिने उनले निधो गरेकी छिन् । हामीले सोध्यौं, पुरानामा के खराबी भयो, नयाँलाई नै किन ? उनले शान्त स्वरमा भनिन्, “पुरानालाई धेरै पटक हेरियो, तर अब चाहिँ एक पटक नयाँ पार्टीलाई हेर्ने कि भन्ने हो । हाम्रो वरपर सबै नयाँ पार्टीलाई नै हेर्नुपर्छ भन्ने छ । नयाँमा पनि धेरै जना घण्टीलाई हेर्ने भन्छन् ।” उनको अभिव्यक्तिमा असन्तोषभन्दा बढी जिज्ञासा र परीक्षण गर्ने चाहना देखिन्थ्यो।

नागर्जुनकी माया लामा निर्वाचनको बिषयमा सुरुमा खुल्न चाहिनन्। तर केही समयको कुराकानीपछि उनले आफ्नो आशय खुलाइन्। “खै, सबै जना घण्टी भन्छन् । घरमा छोराछोरी पनि घण्टीमै भोट हाल्नु पर्छ भन्छन् ।” ८० वर्षीया लामालाई राजनीतिक दलको विषयमा धेरै जानकारी छैन। तर घरमा छोराबुहारीले घण्टीको मात्रै कुरा गरेको उनले सुनाइन् । “नयाँ पार्टी राम्रो छ। नयाँलाई दिने भनेका छन्,” उनले भनिन् । उनको निर्णय व्यक्तिगतभन्दा पारिवारिक प्रभावमा बढी आधारित देखिन्थ्यो।

नागर्जुनका ६४ वर्षीय रामबहादुर बडुवालले भने २१ गते दिने भोटको विषयमा निर्णय गरिसकेका छन्। “यो भन्दा पहिला हलो, रुख, सूर्यलाई पनि दिएको हो,” उनले पुराना अनुभव सम्झिँदै भने, “तर यो पटक नयाँलाई दिएर हेरौ । यिनीहरुले पनि गरेर देखाएनन् भने सोचौला, तर एक पटक मौका त दिनुप¥यो।” उनको भनाइमा निराशा भन्दा बढी ‘अन्तिम अवसर’ जस्तो भाव झल्किन्थ्यो।

nullकाठमाडौं बल्खुकी ५४ वर्षीया सृजना श्रेष्ठ पनि निर्वाचनमा कसलाई भोट दिने भन्ने विषय टुंगो लगाइसकेकी छिन् । “यसपाली रास्वपालाई भोट दिने हो । अहिले अरु कुनै विकल्प नै छैन,” उनले स्पष्ट भनिन् । उनको स्वरमा आक्रोश मिसिएको थियो । “देश बस्नै नसक्ने भइसक्यो, ७६ जना निहत्था नागरिकको ज्यान गएको छ । स्कुल ड्रेसका विद्यार्थीमाथि गोली चलाइएको छ । अब फेरि हामीले गल्ती गर्नु हुँदैन। भोट घण्टीमै हो ।” उनले परिवर्तनलाई भावनात्मक र नैतिक दुवै प्रश्नसँग जोडिन्।

चन्द्रागिरीका ४५ वर्षीय हरी बास्कोटा भने अझै दोधारमा छन् । तर उनी अब नयाँ पार्टीले मौका पाउनु पर्छ भन्ने विषयमा स्पष्ट छन् । “पुरानाको हविगत हेरियो। अब एक पटक नयाँलाई पालो दिनुपर्छ । काम नै गर्न नपाई अपेक्षा लगाउनु त भएन। एक पटक मौका दिएर हेरौ,” उनले भने।

null

काठमाडौ ९ नम्बर क्षेत्रमा भेटिएका यी मतदाताका अभिव्यक्तिमा फरक उमेर, फरक अनुभव र फरक पृष्ठभूमि भए पनि एउटा साझा धागो देखिन्छ, पुरानाप्रति बढ्दो असन्तोष र नयाँप्रति बढ्दो अपेक्षा । फागुन २१ ले के परिणाम दिन्छ त्यो त मतपेटिकाले बताउनेछ, तर अहिलेका गल्ली र चौतारामा परिवर्तनको चर्चा भने असाधारण रूपमा गहिरिँदै गएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–९ क्षेत्र चर्चामा छ । यस क्षेत्रमा १८ जना दलीय र ६ स्वतन्त्र गरी २४ जना उम्मेदवार छन्। 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले उम्मेदवारी दिएका छन् । २०७९ सालमा समानुपातिक सांसद बनेका अर्याल पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले काठमाडौ–९ मा रास्वपाका उम्मेदवार पराजित भएको क्षेत्रमा उपसभापति अर्याल चुनावी मैदानमा छन् ।

२०७४ सालमा फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई हराएका एमालेका कृष्णगोपाल श्रेष्ठसँग गत निर्वाचनमा रास्वपाका उम्मदेवार टेकबहादुर पोखरेल मात्रै ९९५ मतान्तरले पराजित भएका थिए।

गत निर्वाचनमाा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ निर्वाचित हुँदा रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाएका थिए । २०७४ को सालमा पनि कृष्णगोपालले जितेका थिए । त्यसबेला उनले प्रतिस्पर्धीलाई धेरै मतान्तरले पछि पारेका थिए । कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर न्यून हुनु र समानुपातिकतर्फको मतमा रास्वपा पहिलो हुनुको आधारमा मत विश्लेषण गर्दा रास्वपाका लागि अनुकूल क्षेत्र बन्न पुगेको छ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ रास्वपाको पक्षमा सबैभन्दा बढी मत खसेको थियो। समानुपातिकमा रास्वपाले ११ हजार ५०२, एमालेलाई ९ हजार ४०७, कांग्रेसको पक्षमा ८ हजार ५ मत खसेको थियो । 

डीपी अर्यालको बलियो दाबेदारी, कांग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र डीपी अर्याल शालीन, भद्र र सन्तुलित नेताका रूपमा चिनिन्छन् । पार्टीभित्र उनलाई संकटको समयमा पार्टी जोगाउने नेताका रूपमा हेरिन्छ । सभापति रवि लामिछाने हिरासत र जेलमा रहँदा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै उनले संगठनलाई मात्रै जोगाएनन्, संसदमा बलियो प्रतिपक्षको भूमिका पनि निर्वाह गरे । उनको नेतृत्वमा रास्वपा स्पष्ट धार र ठोस एजेन्डासहित सदनमा उभियो, जसले उनलाई जिम्मेवार र दृढ नेताको रूपमा स्थापित ग¥यो।

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका अर्याल सफल व्यवसायीका रूपमा पनि परिचित छन् । शिक्षा, पर्यटन र वित्तीय क्षेत्रमा उनको लगानी रहेको छ । समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छन् । कोभिड–१९ महामारीका बेला अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्थापन, राहत वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा उनले अग्रसरता लिएर धेरैलाई सहारा दिएका थिए।

२०७९ मा संघीय सांसद निर्वाचित भएपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाले । मन्त्रालयको नेतृत्व गर्दै उनले वैदेशिक रोजगारी व्यवस्थापनमा महत्वपूर्ण सुधार गरे । एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था लागू गर्दै श्रमिकमाथि हुने ढिलासुस्ती र ठगी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरे । पूर्वप्रस्थान अभिमुखीकरण तालिम शुल्क वृद्धि र अंग्रेजी अनिवार्य बनाउने कार्यविधि खारेज गरेर लाखौं श्रमिकलाई अतिरिक्त आर्थिक भारबाट जोगाए । सातै प्रदेशमा रोजगार मेला आयोजना, श्रमाधान कल सेन्टर सञ्चालन र डिजिटल सूचना प्रणाली सुरु गर्नु उनका उल्लेखनीय पहल हुन् । विदेशमा समस्यामा परेका श्रमिकको उद्धार र श्रमिकमैत्री सेवा विस्तारमा पनि उनले सक्रिय भूमिका खेले।

अब उनी काठमाडौं क्षेत्र नम्बर ९ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोणसहित उम्मेदवार बनेका छन् । भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, पूर्वाधार विकास र रोजगारी सिर्जना उनको प्राथमिकता हो । नागर्जुन, चन्द्रागिरी र काठमाडौंका फरक आवश्यकता बुझेका अर्याल ठाउँअनुसार योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्छन् । अनुभव, इमानदारी र कार्यक्षमताको संयोजनका रूपमा उनी काठमाडौं–९ का लागि बलियो विकल्पका रूपमा उभिएका छन्।

यस क्षेत्रमा मतदाताको संख्या ७८ हजार ४९५ जना छन् । महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी छ । महिला मतदाता ४० हजार २७८ हुँदा पुरुष मतदाताको संख्या ३८ हजार २१७ जना छन् । महिला ५१.३१ प्रतिशत छन् भने पुरुष मतदाता ४८.६९ प्रतिशत छन्। 

१८ देखि २५ बर्ष उमेर समूहका मतदाता ५ प्रतिशत छन् । २६ देखि ४० बर्ष उमेर समूहका २७ प्रतिशत, ४१ देखि ६० वर्ष उमेर समूहका ४० प्रतिशत  र ६० वर्ष देखि माथि उमेर समूहका २५ प्रतिशत मतदाता छन् । 

२०७९ को मतदातमा प्रत्यक्षमा ४४ हजार ३७९ (६१.४९प्रतिशत) मत खसेको थियो । ४२ हजार ५१७ (९५.८ प्रतिशत) मत सदर भएको थियो । १ हजार ८६२ (४.२ प्रतिशत) मत बदर भएको थियो । 

समानुपातिकमा ४४ हजार २९७ (६१.३८ प्रतिशत) मत खसेको थियो। ४२ हजार ९८४ (९७.०४ प्रतिशत) मत सदर भएको थियो । १ हजार ३१३ (२.९६) प्रतिशत मत बदर भएको थियो । 

काठमाडौं जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसकी उम्मेदवार नानु बास्तोला लोकतान्त्रिक मूल्य, सुशासन र महिला अधिकारका मुद्दासहित चुनावी मैदानमा उत्रिएकी छन् । ४४ वर्षीया बास्तोलाको स्थायी बसोबास काठमाडौं महानगरपालिकामा रहेको छ र उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । विशेष महाधिवेशनबाट खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित उनी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएकी नेतृ हुन्। 

काठमाडौं जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाट नेकपा (एमाले) का उम्मेदवार अजय क्रान्ति शाक्य शैक्षिक र राजनीतिक अनुभव भएका नेता हुन् । ५७ वर्षीय शाक्यको जन्म काठमाडौंमा भएको हो र उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–न्हायकः वहिलमा रहेको छ । उनले विद्यावारिधिसम्म अध्ययन गरी बौद्ध दर्शन, संस्कृति र शाक्य समुदायसम्बन्धी विषयमा अनुसन्धान गरेका छन् । शाक्य एमालेका केन्द्रीय कमिटी सदस्य हुन् र २०७४ मा काठमाडौं–९ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । प्रदेश सभामा रहँदा उनी विकास, सामाजिक न्याय र नीति कार्यान्वयनका विषयमा सक्रिय रहेका थिए। 

काठमाडौं जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राधाकृष्ण महर्जन वैचारिक प्रतिबद्धता बोकेका वामपन्थी नेता हुन् । काठमाडौंमै जन्मिएका ५४ वर्षीय महर्जनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका टेबहाल हो । उनले स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका छन् । राजनीतिक रूपमा राधाकृष्ण महर्जन नेपाली कम्युनिस्ट पार्टीसँग आबद्ध रहँदै आएका छन् । उनले आफूलाई श्रमजीवी वर्ग, शहरी मध्यम वर्ग र उपेक्षित समुदायको आवाज संसद्सम्म पु¥याउने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।