नयाँ दिल्ली। दिल्लीको एक अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई मदिरा इजाजतपत्र बाँडफाँटसम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ। शुक्रबार सार्वजनिक फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय भएको प्रतिक्रिया दिएका छन्।
सन् २०२४ मार्चमा पक्राउ परेका केजरीवालले केही महिना जेल सजाय भोगेका थिए। अदालतले उनका पूर्व सहायक मनिष सिसोदिया तथा अन्य २१ जनालाई पनि आरोपमुक्त गरेको जनाएको छ।
फैसलापछि सञ्चारकर्मीसँग बोल्दै केजरीवालले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको दाबी गरे। उनले सत्तारूढ दलले आम आदमी पार्टीलाई कमजोर बनाउन प्रयास गरेको आरोप लगाए।
कर सङ्कलनकर्ताबाट राजनीतिमा प्रवेश गरेका केजरीवाल भ्रष्टाचारविरोधी अभियानमार्फत राष्ट्रिय राजनीतिमा स्थापित भएका हुन्। अदालतको निर्णयले उनको राजनीतिक छवि पुनः बलियो बनेको विश्लेषण गरिएको छ।
आर्थिकन्यूज