शीर्षकहरू

आधाभन्दा कम उम्मेदवारले मात्रै खोले निर्वाचन खाता

आधाभन्दा कम उम्मेदवारले मात्रै खोले निर्वाचन खाता

काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये आधाभन्दा कम, १ हजार ६७० जनाले मात्रै बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावी खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा कमजोर देखिएको हो।

निर्वाचनमा भाग लिएका ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र प्रचारप्रसारका लागि छुट्टै बैंक खाता सञ्चालन गरेका छन्। खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।

आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन तथा कानुनले तोकेको खर्च सीमा पालना गराउन बैंकिङ प्रणालीमार्फत मात्रै आम्दानी–खर्च गर्न निर्देशन दिएको छ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले समेत छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ।

तर, हालसम्मको तथ्यांकले ठूलो संख्यामा उम्मेदवारले उक्त व्यवस्था पालना नगरेको देखाएको छ। यसले निर्वाचन खर्च निगरानी र पारदर्शितामा चुनौती देखिएको आयोग स्रोतले जनाएको छ।