काठमाडौं । नेपालमा ट्रेडमार्क दर्तासँगै यससँग सम्बन्धित उजुरीहरू पनि बढ्दै गएको छ । ट्रेडमार्क दर्ता बढेसँगै दर्ता भएका ट्रेडमार्कको नक्कल गर्ने चलन पनि बढेको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा मात्रै ट्रेडमार्कसम्बन्धी ३७२ वटा उजुरी परेका छन् । आफ्नो स्वामित्वमा रहेको ट्रेडमार्कको दाबी विरोध, नक्कल, दर्ता बदर, दर्ता आवेदन खारेज लगायतका विषयमा उजुरी परेको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए । जसमध्ये अधिकांश उजुरी आफ्नो स्वामित्वको ट्रेडमार्क रहेको दावीको परेको उनको भनाई छ ।
पछिल्लो ७ महिनामा विभागले १४५ वटा उजुरीको फैसला गरेको छ । विभागमा विगत १२ वर्ष देखिका उजुरीहरू फैसला हुन बाँकी नै रहेको अवस्था छ । २०६८ सालदेखि २०८२ फागुन ११ गतेसम्म विभागमा कुल ३ हजार १२३ वटा उजुरी परेका थिए । जसमध्ये १ हजार १३८ वटा उजुरीको फैसला भइसकको जनाइएको छ । अझै करिब २ हजार उजुरी फैसला हुन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए ।
विभागको रेकर्डमा २०६८ देखिको उजुरी रहेको छ । २०६८ सालमा १९ वटा उजुरी विभागमा परेको थियो । त्यसैगरी, २०६९ मा २७, २०७० मा ३७, २०७१ म ५८ वटा उजुरी परेको थियो । यसैगरी, २०७२ मा १७३, २०७३ मा १६३, २०७४ मा १५४, २०७५ मा ३५७, २०७६ मा २१९ वटा उजुरी परेको थियो । यस्तै, आर्थिक वर्ष २०७७ मा ३३४, २०७९ मा ३००, २०८० मा ५२४ वटा, २०८१ मा ५२४ वटा उजुरी परेको थियो ।
१२ वर्ष देखिका उजुरी फैसला हुन बाँकी
दर्ता भएका मध्ये विगतका वर्षदेखि चालु वर्षसम्मका उजुरीहरू विभागले निरन्तर फैसला गर्ने गर्दछ । यसरी फैसला गर्दा पनि विगत १२ वर्ष देखिका केही उजुरीहरू अझै फैसला हुन बाँकी रहेको छ । २०६९ सालमा दर्ता भएका उजुरी समेत अझै फैसला हुने बाँकी रहेको विभागका एक कर्मचारीले आर्थिक न्यूजनालई जानकारी गराए ।
ठूलो संख्यामा उजुरी फैसला हुन बाँकी रहनुमा धेरै कारणहरू रहेका छन् । जसमध्ये विभागको उजुरी हेर्न शाखा अर्थात् कानून शाखामा कर्मचारीको अभाव भएका कारण पनि उजुरीको चाङ लागेको हो । यसका साथै, उजुरी दर्ता गराउने पक्ष र विपक्षी सम्पर्कमा नआउँदा पनि धेरै उजुरी फैसला हुन नसकेको विभागका एक कर्मचारीले बताए ।
आर्थिक न्यूजसँग कुरा गर्दै उनले भने, 'विभागको कानून शाखामा जम्मा ३ जना कर्मचारी छन्, यसले गर्दा पनि काम स्लो भएको छ, धेरै फैसला हुन बाँकी रहेको छ । यस्तै, धेरै उजुरीहरू दर्ता गराएर मानिसहरू सम्पर्कमा नै आउँदैनन्, उनीहरुको फोन उठ्दैन, कतिपय अवस्थामा एक पक्ष सम्पर्कमा आउँदा अर्काे पक्ष सम्पर्कमा आउँदैन । सस्ता कारणले पनि धेरै उजुरी फैसला हुन सकेका छैनन् ।’
हाल विभागमा २ हजारको हाराहारीमा उजुरी छन् । जसमध्ये १ हजार ४०० उजुरी तामेलीमा राख्नुपर्ने अवस्थामा पुगेको छ । पक्ष र विपक्ष सम्पर्कमा नआएका उजुरीको संख्या १ हजार ४०० को हाराहारीमा रहेको र ति सबै तामेलीमा राख्ने प्रक्रिया अघि बढेको जनाइएको छ । बाँकी ६०० उजुरी निरन्तर फैसला हुँदै जाने विभागले जनाएको छ ।
विभाग एक अर्धन्यायिक इजलास हो । जसमा जिल्ला अदालत सरहको कानूनी काम गर्दछ । विभागले गरेको आवेदन तथा फैसला चित्त नबुझेमा पुनरावेदन जान सकिन्छ । जिल्लाको फैसलामा पनि पुनरावेदन नै जाने हो ।
जिल्ला शहरको र उजुरीको संख्या पनि धेरै रहेको विभागको कानून शाखामा ३ जना कर्मचारीले काम गर्न भ्याउने अवस्था छैन । जिल्लाको कुनै एक शाखामा ७०० को हाराहारीमा उजुरी बाँकी रहेको हुन्छ । जहाँ ६ जना कर्मचारी हुन्छन् । यस अनुसार विभागको कानून शाखामा कम्तीमा पनि ५ जना कर्मचारी आवश्यक पर्ने एक कर्मचारीले बताए ।
कसरी पर्छ उजुरी ?
विभागमा ट्रेडमार्क दर्ताका लागि आवेदन पर्दछ । सो आवेदन अनुसार विभागको औद्योगिक सम्पत्ति शाखाले आधारभूत परीक्षण गर्दछ । जहाँ कसैसँग मिल्दो जुल्दो छ कि छैन भनेर परीक्षण गर्दछ ।
आधारभूत परीक्षणमा शाखा अधिकृतसम्मका कर्मचारीले देख्दा, सुन्दा, बोल्दा, बुझ्दा कसैसँग मिल्दो जुल्दो छ कि छैन भनेर अध्ययन गर्ने गरेको शाखाकी निर्देशक विष्णु कुमारी भट्टराईले बताइन् । यसरी आधारभूत परीक्षण गर्दा कसैसँग मिल्दो जुल्दो नभेटिएको खण्डमा शाखाको निर्देशकले विस्तृत परीक्षण गर्ने प्रावधान रहेको उनले बताइन् ।
यसरी निर्देशकले परीक्षण गर्दा पनि विगतमा दर्ता भएका ट्रेडमार्कसँग मेल नखाएमा विभागले बुलेटिनमा प्रकाशन गर्दछ । निर्देशक भट्टराईका अनुसार विभागसँग ट्रेडमार्क नक्कली हो कि सक्कली, अन्य ट्रेडमार्कसँग जुध्यो कि भनेर चेक गर्ने कुनै आधुनिक प्रविधि तथा प्रणाली भने छैन । यस अवस्थामा विभागमा निर्देशकको तहबाट मिल्दो जुल्दो नभेटिएपछि दावी विरोधका लागि विभागले आफ्नो वेबसाइटमा र गोरखापत्रमा सार्वजनिक गर्ने गरेको उनले बताइन् ।
विभागले पौष ११ गते सार्वजनिक गरेको बुलेटिनको अंशः
विभागले ट्रेडमार्क निर्देशिका २०७२ को दफा १२ अनुसार बुलेटिन सार्वजनिक गर्दछ । हरेक २/२ महिनामा सो अवधिसम्म दर्ताका लागि आएर निर्देशकबाट पास भएका ट्रेडमार्कहरू एकैसाथ सार्वजनिक हुन्छ । उक्त ट्रेडमार्क कसैसँग मेल खाएमा ९० दिनभित्र विभगमा उजुरी दिनु भन्दै विभागले सूचना पनि जारी गर्दछ ।
त्यसकै आधारमा आफ्नो ट्रेडमार्क हो भन्ने लागेकाले आएर उजुर गर्ने गर्दछन् । यदि कसैको दावी नपरेको खण्डमा उक्त आवेदनकलाई विभागले टे«डमार्क दर्ता गरिदिन्छ ।
लक्ष्मण लम्साल
