शीर्षकहरू

इजरायल–ईरानबीच ठूलो सैन्य संघर्ष

इजरायल–ईरानबीच ठूलो सैन्य संघर्ष

तेहरान । शनिबार बिहान इजरायलले ईरानको राजधानी तेहरानसहित विभिन्न शहरमा ठूलो हमला गरेको छ। समाचार एजेन्सी Reutersका अनुसार इजरायली आक्रमणमा ईरानका रक्षा मन्त्री अमिर नासिरजादेह र इरान रिभोल्युशनरी गार्ड्स (IRGC) का कमाण्डर मोहम्मद पाकपोरको मृत्यु भएको दाबी गरिएको छ।

ईरानी समाचार एजेन्सीहरूले दक्षिणी ईरानको एक विद्यालयमा मिसाइल खसेर ४० छात्रा मारिएका र ४५ जना घाइते भएको जानकारी दिएका छन्। इजरायलले अमेरिकासँग मिलेर ईरानका १० शहरमा एयरस्ट्राइक गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देशमार्फत यो हमला अमेरिकी नागरिकको सुरक्षा सुनिश्चित गर्न गरिएको दाबी गरेका छन्।ईरानले इजरायलतर्फ करिब ४०० मिसाइल प्रहार गरेको छ।

साथै कतार, कुवेत, जोर्डन, बहरीन, साउदी अरब र यूएईमा रहेका अमेरिकी सैन्य ठिकानाहरूलाई निशाना बनाएको छ। ईरानले यूएईको सबैभन्दा ठूलो शहर दुबईमा पनि हमला गरेको दाबी गरिएको छ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै ईरानमाथि हमला गर्ने चेतावनी दिएका थिए। उनका अनुसार अमेरिकी सेना ईरानको मिसाइल कार्यक्रमलाई नष्ट गर्ने प्रयास गरिरहेको छ।