काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको अवस्थामा नेपाल राष्ट्र बैंकले आज १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले ८७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा संकलन गरिने यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते हुनेछ।
राष्ट्र बैंकले आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः वितरण गर्ने जनाएको छ। बजारमा उपलब्ध अतिरिक्त तरलता सन्तुलनमा राख्न केन्द्रीय बैंकले नियमित रूपमा यस्ता अल्पकालीन मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।
आर्थिकन्यूज