शीर्षकहरू

श्री स्टील्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

श्री स्टील्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र निर्देशिकाअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी निकट भविष्यमा आईपीओ जारी गर्ने जनाएको छ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ।

नेपालमा टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको श्री स्टील्स पूर्ण स्वचालित प्लान्ट भएको कम्पनी हो। कम्पनीका अनुसार नेपालजस्तो भौगोलिक रूपमा जटिल र भूकम्पीय जोखिमयुक्त देशमा बलिया संरचना निर्माणका लागि उच्च गुणस्तरका रिबार आवश्यक पर्ने भएकाले आधुनिक प्रविधिमा आधारित उत्पादनलाई प्राथमिकता दिइएको छ।

कम्पनीले सिक्स स्ट्यान्ड ब्लक मिलसहितको अत्याधुनिक जापानी प्रविधि प्रयोग गरी टीएमटी रिबार उत्पादन गर्दै आएको जनाएको छ। गुणस्तरीय उत्पादनमार्फत देशलाई फलाम तथा रडजन्य सामग्रीमा आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख छ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा श्री स्टील्सका तर्फबाट प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड का प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका थिए। उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको पनि उपस्थिति रहेको जनाइएको छ।

आईपीओको आकार, निष्काशन मिति र अन्य विवरण नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।