शीर्षकहरू

चुनावी माहोलसँगै नेप्सेमा नयाँ ऊर्जा, ५ दिनमै ६० अंकको फड्कोले बजारमा बुलिस संकेत

नेप्सेमा १९ अंकको उछालसँगै कारोबार ५ अर्ब नाघ्यो, सबै उपसमूहमा हरियाली

चुनावी माहोलसँगै नेप्सेमा नयाँ ऊर्जा, ५ दिनमै ६० अंकको फड्कोले बजारमा बुलिस संकेत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक स्थायित्व र पुँजी बजारमैत्री नीतिको अपेक्षाले शेयर बजारमा उत्साह थपिएको छ। लामो समय साइडवेज र दबाबमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पछिल्लो पाँच कारोबार दिनमा झण्डै ६० अंकले उकालो लाग्दै नयाँ लयमा देखिएको छ।

साताको पहिलो दिन मात्रै सूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुग्दा कारोबार रकम पनि ५ अर्ब ६४ करोड रुपैयाँ नाघेको छ, जसले चुनावी माहोलसँगै बजारमा बढ्दो लगानीकर्ता आत्मविश्वास झल्काएको छ।

निर्वाचनको समयमा बजारमा तरलता बढ्ने र नयाँ सरकारले पुँजी बजारमैत्री नीति ल्याउने अपेक्षाले गर्दा कारोबार शेयर लगानीकर्ता आशावादी देखिएका हुन् । राजनीतिक दलले निर्वाचन लक्षित गरेर सार्वजनिक गरेका घोषणापत्रमा अर्थतन्त्र र सेयर बजारलाई आफ्नो प्राथमिकतामा राखेका कारण पनि लगानीकर्ताहरु उत्साहित देखिएका छन्। 

निर्वाचनको माहोलले राजनीतिक स्थायित्व, आर्थिक गतिविधिमा तीव्रता र नीतिगत सुधारको अपेक्षा बढेकाले सेयर बजारमा यस्तो उत्साह देखिएको हो। यदि यही लय कायम रह्यो भने आगामी दिनहरुमा बजारले अझ माथिल्लो विन्दु परीक्षण गर्ने सम्भावना बलियो देखिन्छ।

नेप्सेमा १९ अंकको उछालसँगै कारोबार ५ अर्ब नाघ्यो, सबै उपसमूहमा हरियाली

साताको पहिलो कारोबार दिन शेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा उक्लिएको छ। लगातार उकालो यात्रामा रहेको बजारले आइतबार पनि गति कायम राख्दै सूचक र कारोबार दुवैमा सुधार देखाएको हो।

आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।

बजारमा सूचक मात्र नभई लगानीकर्ताको सहभागिता पनि बढेको देखिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर कारोबार भएको हो।

यस दिन १३ वटै उपसमूहको परिसूचक हरियालीमा देखिएको छ, जसले बजारमा समग्र सकारात्मक धारणा बलियो बन्दै गएको संकेत गर्छ। वित्त उपसमूह सर्वाधिक २.२२ प्रतिशतले बढ्दा व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

बजारमा सकारात्मक माहोल देखिँदा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयरमा खरिद चाप उच्च देखिएको हो। बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रहँदा उक्त कम्पनीको ३६ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको २८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

पछिल्ला निर्वाचनहरुमा नेप्सेको यात्राः उतार-चढावबीच देखिएको दीर्घकालीन सम्भावना

नेपालको सेयर बजार (नेप्से) ले निर्वाचनका हरेक चरणमा फरक–फरक चाल देखाउँदै आएको छ। राजनीतिक घटनाक्रमले छोटो अवधिमा उतार–चढाव ल्याए पनि, दीर्घकालमा बजारले आफूभित्रको सम्भावना देखाएको इतिहास छ।

वैशाख २०५६ को संसदीय निर्वाचनपछि नेप्से करिब ११ प्रतिशतले बढेको थियो। २०६४ को संविधानसभा निर्वाचनपछि नेप्से करिब १० प्रतिशतले उकालो लागेको थियो भने २०७० को निर्वाचनपछि नेप्से करिब ३५–४१ प्रतिशतले बढेको थियो। तर, सबै निर्वाचनमा बजार बढ्ने होइन। स्थानीय तहको निर्वाचन, २०७४ मा नेप्से करिब ९ प्रतिशतले घटेको थियो भने २०७९ को संसदीय निर्वाचनमा ठूलो उतारचढाव आएको थिएन।

विशेषज्ञहरुका अनुसार राजनीतिक स्थिरता हुँदा सेयर बजार बढ्ने गर्छ भने अस्थिरता हुँदा घट्ने गर्छ। नयाँ व्यक्ति वा दल सत्तामा आउँछ भन्ने आशाले लगानीकर्तामा उत्साह बढाउँछ र बजारमा सकारात्मक प्रभाव पर्छ। विगतमा भएको केही निर्वाचनको अनुभव अनुसार संसदीय निर्वाचनपछि नेप्से परिसूचक बढ्ने प्रचलन देखिएको छ। 

२०६४ को संविधानसभा निर्वाचन

संविधानसभा निर्वाचनको घोषणासँगै नेप्से सूचक ५०० विन्दुबाट तीव्र गतिमा उकालो लाग्दै करिब १००० विन्दु पार गरेको थियो। निर्वाचनको समयमा भने केही करेक्सन भई सूचक ७०० विन्दु आसपास झरे पनि, निर्वाचनपछि बजारले पुनः गति लिँदै करिब ११०० विन्दुसम्मको यात्रा तय ग¥यो। यसले राजनीतिक संक्रमणपछि बजार पुनः स्थिर हुँदै बढ्न सक्ने संकेत दिएको थियो।

२०७० को दोस्रो संविधानसभा निर्वाचन

२०६९ देखि नै ३०० विन्दुबाट उक्लिन थालेको नेप्से २०७० को निर्वाचनताका करिब ७०० विन्दुमा पुगेको थियो। निर्वाचनपछि भने बजारले उल्लेखनीय मजबुती देखाउँदै निरन्तर वृद्धि ग¥यो र अन्ततः १८८१ विन्दुसम्म पुग्न सफल भयो। यो चरणलाई नेप्सेको दीर्घकालीन बुल रनको आधारका रूपमा हेरिन्छ।

२०७४ का स्थानीय र संघीय निर्वाचन

२०७३ सालदेखि नै बजार दबाबमा रहेकाले २०७४ को स्थानीय तह र संघीय निर्वाचनताका नेप्सेले ठूलो उछाल लिन सकेन। १७०० विन्दुबाट झरेर १५०० आसपास पुगेको बजार निर्वाचनपछि पनि केही समय साइडवेज रह्यो। यद्यपि, यस चरणलाई बजारले आफूलाई पुनः सन्तुलनमा ल्याउने समयका रूपमा लिएको देखिन्छ।

२०७९ पछिको अवस्था

२०७९ को निर्वाचनपछि बजार तुरुन्तै उकालो लागेन। पुष्पकमल दाहाल नेतृत्वको सरकारको समयमा नेप्से साइडवेज रह्यो। तर, वि.सं. २०८१ मा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि बजारमा उल्लेखनीय सुधार देखियो। निरन्तरता नपाए पनि सो अवधिमा नेप्से सूचक करिब ४० प्रतिशतसम्म बढ्नुले राजनीतिक स्थिरता र नीतिगत अपेक्षाले बजारलाई कति प्रभाव पार्न सक्छ भन्ने देखाएको छ।

इतिहास हेर्दा निर्वाचनका समयमा नेप्सेले अल्पकालीन उतार–चढाव देखाए पनि, प्रत्येक राजनीतिक संक्रमणपछि नयाँ सम्भावनाको ढोका खुलेको पाइन्छ। यही कारण आगामी निर्वाचन नजिकिँदै जाँदा लगानीकर्तामा दीर्घकालीन दृष्टिकोणसहित आशावाद बढ्दै गएको देखिन्छ।

राजनीतिक स्थायित्व र निर्वाचनको सुनिश्चिततासँगै शेयर बजारमा पनि सकारात्मक संकेत देखिन थालेका छन्। बजारमा कारोबार बढ्नु, सूचकमा सुधार देखिनु र लगानीकर्ताको सक्रियता बढ्नु चुनावी वातावरणसँग जोडेर हेरिएको छ। बजार विश्लेषकहरुका अनुसार “निर्वाचन अनिश्चितता हट्दै जानु, प्रमुख दलहरुको प्रतिबद्धता र नयाँ राजनीतिक सहकार्यले लगानीकर्तामा भरोसा बढाएको छ।”

जेनजी आन्दोलनपछि बनेको सरकारले नयाँ परिवर्तन ल्याउने आशा लगानीकर्तामा छ । चुनावले मात्र बजार बढाउँदैन, राजनीतिक स्थिरता, नयाँ नीति, भ्रष्टाचार नियन्त्रण र लगानीकर्ताको मनोबलले बजारको दिशा निर्धारण गर्छ। यसैले यसपटकको निर्वाचनपछिको बजार कस्तो हुन्छ भन्ने कुरा चासोको बिषय रहेको छ । 

राजनीतिक सहमति, चुनावी तयारी र स्थायित्वको अपेक्षाले अर्थतन्त्र चलायमान हुने संकेत दिँदै गर्दा, आगामी दिनमा शेयर बजार थप सकारात्मक दिशामा अघि बढ्ने सम्भावना रहेको विश्लेषकहरुको निष्कर्ष छ ।

null