काठमाडौं। मध्यपूर्वमा बढ्दो सुरक्षा तनावलाई ध्यानमा राख्दै सरकारले खाडी मुलुकमा जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यो निर्णय इजरायल, अमेरिका र इरानबीच विकसित सैन्य टकराव र त्यसले क्षेत्रीय सुरक्षामा पार्न सक्ने जोखिमका कारण लिइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार, “बढ्दो अस्थिरताका कारण खाडी क्षेत्रका सम्बन्धित देशमा नयाँ श्रम स्वीकृति जारी नगर्ने निर्णय गरिएको छ। अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीमा जाने सम्पूर्ण श्रमिकका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिनेछ।”
वैदेशिक रोजगार विभागमार्फत अन्तिम स्वीकृति पाएपछि मात्र श्रमिकहरूले गन्तव्य मुलुक प्रस्थान गर्न पाउने प्रावधान रहे पनि हाल विभागलाई नै स्वीकृति प्रक्रिया रोक्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
क्षेत्रीय सुरक्षा चुनौती बढेपछि सरकारले सम्बन्धित देशतर्फ प्रस्थानका लागि विमानस्थलमा पुगेका नेपालीहरूलाई तत्काल घर फर्किन अनुरोध गरेको छ। मन्त्री भण्डारीले भने, “परिस्थिति सामान्य नहुँदासम्म कोही पनि जोखिमपूर्ण अवस्थामा विदेश नजाओस् भन्ने हाम्रो चाहना हो।”
सरकार आवश्यक परे उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको छ। श्रम मन्त्रालयअन्तर्गतको कल सेन्टरलाई २४ घण्टा सक्रिय राखिएको छ जसले विदेशमा रहेका नेपाली र उनका परिवारलाई सूचना, समन्वय र आपत्कालीन सहयोग उपलब्ध गराउनेछ।
खाडी मुलुकहरू नेपालका प्रमुख श्रम गन्तव्य हुन्। लाखौं नेपाली श्रमिक त्यहाँ कार्यरत छन् र उनीहरूले पठाउने रेमिटेन्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिन्छ। यस निर्णयले अल्पकालीन रूपमा वैदेशिक रोजगारी र रेमिटेन्स प्रवाहमा प्रभाव पार्न सक्छ। यद्यपि सरकारले यस कदमलाई अस्थायी र सुरक्षामुखी निर्णयको रूपमा स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार, मध्यपूर्वको भू–राजनीतिक परिस्थिति सामान्य भएपछि श्रम स्वीकृति प्रक्रिया पुनः सञ्चालन गरिनेछ। हालका लागि प्राथमिकता विदेशमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्नु र नयाँ श्रमिकलाई जोखिमबाट जोगाउनु रहेको छ।
आर्थिकन्यूज