शीर्षकहरू

बैंक  तथा वित्तीय क्षेत्रका लागि हुवावे इन्टरप्राइजले ल्यायो एकीकृत आइसिटी पूर्वाधार

बैंक  तथा वित्तीय क्षेत्रका लागि हुवावे इन्टरप्राइजले ल्यायो एकीकृत आइसिटी पूर्वाधार

काठमाडौँ । हुवावे इन्टरप्राइजले बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै एकीकृत अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पूर्वाधार सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस पूर्वाधारमा उच्च कार्यसम्पादन क्षमता भएको स्टोरेज, डाटा सेन्टर भर्चुअलाइजेसन समाधान (डिसिएस) सहितको क्लाउड पूर्वाधार र डाटा सेन्टर नेटवर्कको सुविधा उपलब्ध हुनेछ । 

नेपालका बैंक तथा वित्तीय क्षेत्र डिजिटल बैंकिङ, मोबाइल वालेट, रियल–टाइम भुक्तानी, अनलाइन कर्जा तथा फिनटेक सेवाको तीव्र विस्तारसँगै पूर्ण डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ । हुवावे इन्टरप्राइजेजले ल्याएको यो पूर्वाधारले बैंक तथा वित्तीय संस्थालाई २४सै घण्टा सेवा उपलब्ध गराउन थप सहज बनाउने कम्पनीको भनाइ छ । उक्त पूर्वाधारको प्रयोग गरी रियल–टाइम कारोबार, डाटा सुरक्षा, नियामकीय पालना तथा सहज ग्राहक अनुभव सुनिश्चित गर्न सहज हुनेछ । 

हुवावे इन्टरप्राइज स्टोरेजले रियल–टाइम कारोबारका लागि अल्ट्रा–हाइ आइओपिएस र न्यून लेटेन्सी उपलब्ध गराउँछ । गार्टनरको मूल्यांकनअनुसार उक्त एकीकृत पूर्वाधारले तीनवटा सूचकमध्ये पहिलो र अन्य दुई सूचकमा दोस्रो स्थान हासिल गरेको छ । 

वित्तीय क्षेत्रमा डाउनटाइम स्वीकार्य हुँदैन । सोही विषयलाई ध्यानमा राख्दै हुवावेले ल्याएको नयाँ पुस्ताका अल फ्ल्यास इन्टरप्राइजेज स्टोरेजको सुविधाले वित्तीय स्तरको विश्वसनीयता ९९.९९ प्रतिशत कायम राख्ने जनाइएको छ । कम्पनीका अनुसार उक्त सेवामा सातवटा कन्ट्रोलरले काम नगरेको अवस्थामा पनि सेवा भने निरन्तर चलिरहने छ । 

हुवावेका अनुसार यस एकीकृत सेवामा उच्च स्तरको डाटा सुरक्षा तथा ब्याकअप सुविधा समावेश गरिएको  । जसले नियामकीय पालना र व्यावसायिक निरन्तरतामा सहयोग पुऱ्याउँछ । हुवावेको उक्त सेवाले टोली ग्रुपबाट मान्यता प्राप्त गरिसकेको छ । यस संरचनामा ठगी पहिचान, जोखिम विश्लेषण र डाटा विश्लेषणमा पनि सहयोग पुर्याउने जनाइएको छ । 

पछिल्लो समय हाइब्रिड तथा प्राइभेट क्लाउडतर्फ उन्मुख नेपालका बैंक तथा वित्तीइ संस्थाका लागि हुवावेले ल्याएको यो डाटा सेन्टर सोलुसनले सहज र विस्तारयोग्य पूर्वाधारको सुविधा उपलब्ध गराएको छ । यसले कम्प्युट, स्टोरेज र नेटवर्किङलाई एउटै क्लाउड प्लेटफर्ममा एकीकृत गर्दै भर्चुअलाइजेसन र केन्द्रीय व्यवस्थापन गर्छ । डिसिएसले नयाँ डिजिटल सेवा र फिनटेक एप्लिकेसन छिटो तैनाथ गर्न सहयोग पुऱ्याउने, जटिलता घटाउने र आईटी लगानीलाई प्रभावकारी बनाउने बताइएको छ ।

डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै सुरक्षित र उच्च गतिको नेटवर्क पूर्वाधार अपरिहार्य बन्दै गएको छ । हुवावेको क्याम्पस र डाटा सेन्टर नेटवर्क समाधानले मुख्यालय, शाखा र डाटा सेन्टरबीच सुरक्षित तथा तीव्र कनेक्टिभिटी उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

यसमा एसडी वान, ट्राफिक व्यवस्थापन तथा एआई–आधारित नेटवर्क व्यवस्थापनको पनि सुविधा छ । जसले प्रयोगकर्तालाई सहज सेवा दिनुका साथै समस्या पहिचान र समाधानलाई सहज बनाउँछ । साथै, सशक्त साइबर सुरक्षाले संवेदनशील वित्तीय डाटाको संरक्षण सुनिश्चित गर्छ ।

सन् २०२६ को सुरुवातमा हुवावे नेपालले काठमाडौँमा विशेष इन्टरप्राइज आइसिटी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बैंकका नेतृत्व, आइसिटी प्रमुख तथा उद्योग विज्ञहरू सहभागी थिए । कार्यक्रममा उच्च कार्यसम्पादन स्टोरेज, डिसिएस क्लाउड पूर्वाधार र एआइ नेटवर्क समाधानले कसरी एकीकृत रूपमा नेपालको वित्तीय क्षेत्रका लागि सुरक्षित, विस्तारयोग्य आधार तयार गर्न सक्छ भन्ने विषयमा प्रस्तुति र छलफल गरिएको थियो ।