काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गरेको अनुगमनमा निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको निष्कर्ष निकालेको छ। आयोगले ४२ जिल्लामा खटिएका अनुगमन टोलीबाट प्राप्त विवरणका आधारमा विभिन्न प्रकारका उल्लंघनका घटना सार्वजनिक गरेको हो।
आयोगका अनुसार देशका विभिन्न स्थानमा आयोजित र्याली तथा सभामा बालबालिकाको सहभागिता, पत्रकारमाथि धम्की र कुटपिट, आचारसंहिता विपरीत चुनाव चिह्नको भौतिक प्रयोग तथा अनुमति बिना व्यक्तिका घरमा प्रचार सामग्री र झण्डा टाँग्ने कार्य देखिएको छ। त्यस्तै स्थानीय तह र प्रदेश सरकारका पदाधिकारी निर्वाचन प्रचारमा संलग्न भएको विवरण पनि अनुगमनका क्रममा फेला परेको छ।
उम्मेदवारहरूले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरेको, मतदातालाई अनुचित प्रभाव पार्ने प्रयास गरिएको तथा दलका कार्यकर्ता र समर्थकहरूबाट सामाजिक सञ्जालमार्फत गालीगलौज र दुष्प्रचार भएको तथ्य आयोगले उल्लेख गरेको छ। सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा नपुगेको अवस्थासमेत देखिएको जनाइएको छ।
आयोगका केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएका टोलीले निर्वाचन अधिकृतको कार्यालयमार्फत भइरहेको तयारी, आचारसंहिताको कार्यान्वयन अवस्था र शान्तिसुरक्षाको स्थितिबारे प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल गरेका थिए। अनुगमन प्रतिवेदनपछि आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला निकायलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
आयोगले दलहरूबीच देखिएको आपसी सौहार्दता, सुरक्षा निकायको सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनको तयारीलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सामाजिक सञ्जालको दुरुपयोग रोक्न, सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा मजबुत बनाउन आयोगले सम्बन्धित निकायलाई सचेत गराएको छ।
आर्थिकन्यूज