काठमाडौं । सरकारले फागुन २० देखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै इन्धन आपूर्तिमा कुनै अवरोध नआउने गरी व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बिदा अवधिभर पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी तथा वितरण कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
निगमका अनुसार देशभरका डिपो, प्रदेश कार्यालय तथा बिक्री वितरण प्रणालीलाई तयारी अवस्थामा राखिएको छ। अत्यावश्यक सेवा तथा उपभोक्तालाई इन्धन अभाव नहोस् भन्ने उद्देश्यले आवश्यक कर्मचारीलाई जिम्मेवारी तोकी आलोपालो ड्युटीको व्यवस्था गरिएको छ।
बिदा अवधिमा पनि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको आपूर्ति सहज राख्न उद्योग, ढुवानी व्यवसायी र डिलरहरूसँग समन्वय गरिएको निगमले जनाएको छ। निगमले सम्भावित भीड तथा अनावश्यक सञ्चिति रोक्न उपभोक्तालाई आवश्यकता अनुसार मात्र इन्धन खरिद गर्न अनुरोध गरेकाे छ।
निगमले बजारमा इन्धन आपूर्ति पर्याप्त रहेको स्पष्ट गर्दै कुनै किसिमको हल्ला वा भ्रममा नपर्न पनि आग्रह गरेको छ।
आर्थिकन्यूज