काठमाडौं । सामाजिक सञ्जालमार्फत झापामा बालेन शाहमाथि गोली प्रहार भएको भनी भ्रामक सूचना फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट रहेका छन्।
प्रहरीका अनुसार भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहमाथि गोली प्रहार भएको दाबी गर्दै अपुष्ट र भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेका थिए। उक्त सामग्री सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
उनी काठमाडौंको डबली चोकबाट पक्राउ परेका हुन्। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
आर्थिकन्यूज