काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएको छ।
बोर्डका अनुसार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उक्त सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ। निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै होटल र विमानस्थलबीचको आवागमन सहज बनाउन सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
पहिलो रुट
नेपाल वायुसेवा निगम (एनएसी)–न्युरोड–कान्तिपथ–ठमेल–लैनचौर–मल्ल होटल–नयाँबजार–शंकर होटल–र्याडिसन–दरबारमार्ग–याक एन्ड यति–नागपोखरी–गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म बस सञ्चालन हुनेछ। सोही मार्गबाट बस फिर्ता पनि हुनेछ। यस रुटको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको बस परिचालन गरिनेछ।
दोस्रो रुट
महाराजगन्ज चोक–नारायणथान–धुम्बाराही (रामाडा होटल)–चाबहिल–बौद्ध (हायात रीजेन्सी)–जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म बस सञ्चालन हुनेछ। यस रुटका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् र बा १ प १३२० नम्बरको बस प्रयोग गरिनेछ।
तेस्रो रुट
कुपण्डोल–हिमालयन होटल–त्रिपुरेश्वर–सोल्टीमोड–कलंकी–एकान्तकुना–सातदोबाटो–ग्वार्को (रोयल टुलिप)–तीनकुने–नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म सेवा दिइनेछ। यस रुटको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा १ प १०८१ नम्बरको बस परिचालन हुनेछ।
निर्वाचन आयोगले सो दिन आन्तरिक हवाई उडान सञ्चालनको अनुमति दिएपछि बोर्डले यात्रु लक्षित सेवा सञ्चालनमा ल्याएको हो। बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन समयमै विमानस्थल पुग्न तथा सुरक्षित आवागमनका लागि सटल बस सेवाको उपयोग गर्न सबै यात्रुलाई आग्रह गरेका छन्।
आर्थिकन्यूज