शीर्षकहरू

मध्यपूर्वमा युद्धको ज्वाला : कच्चा तेल बजारमा उछाल, ब्रेन्ट र नायमेक्स १० प्रतिशतसम्म महँगियो

मध्यपूर्व तनावबीच तेल महँगिए पनि नेपालमा तत्काल असर नपर्ने निगमको दाबी

मध्यपूर्वमा युद्धको ज्वाला : कच्चा तेल बजारमा उछाल, ब्रेन्ट र नायमेक्स १० प्रतिशतसम्म महँगियो

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रलाई फेरि एकपटक झक्झक्याएको छ। इजरायल र इरान बीच चर्किएको द्वन्द्वमा संयुक्त राज्य अमेरिका समेत प्रत्यक्ष रूपमा संलग्न भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ।

एशियाली बजार सोमबार बिहान खुल्नेबित्तिकै ‘ब्रेन्ट क्रुड’ र ‘नायमेक्स लाइट स्वीट’ दुवैको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको थियो। पछि केही सुधार आए पनि बिहान ५ बजेसम्म ब्रेन्ट क्रुड करिब ९ प्रतिशत बढेर प्रति ब्यारेल ७९.३० डलर आसपास कारोबार भइरहेको थियो। त्यस्तै नायमेक्स झण्डै ८.५ प्रतिशतको वृद्धिसहित ७२.७० डलर आसपास पुगेको थियो।

ब्रेन्ट र नायमेक्स अन्तर्राष्ट्रिय बजारमा व्यापक रूपमा कारोबार हुने दुई प्रमुख कच्चा तेल हुन्। विश्व बजारमा तेलको मूल्य निर्धारणका लागि यी मानक सूचक (बेन्चमार्क) का रूपमा प्रयोग गरिन्छन्।

तनावको सुरुवात शनिबार बिहान इजरायल र अमेरिकाले इरानका सैन्य संरचनामाथि संयुक्त आक्रमण गरेपछि भएको बताइएको छ। त्यसपछि दुवै पक्षबीच आक्रमण–प्रत्याक्रमण जारी छ। हमलामा इरानका सर्वोच्च नेता अयोतुल्लाह अली खामेनी सहित उच्च सैन्य अधिकारीहरू मारिएको दाबी गरिएको छ।

विश्लेषकहरूका अनुसार युद्धको प्रभाव सबैभन्दा पहिले ऊर्जा बजारमा देखिन्छ। प्रारम्भिक चरणमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ३ प्रतिशतले बढेको थियो। यदि द्वन्द्व लम्बिएमा मूल्य १०० डलर नाघ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

ऊर्जा बजारको सबैभन्दा ठूलो चिन्ता ‘स्ट्रेट अफ हर्मुज’ हो। यो समुद्री मार्ग बन्द भएमा विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति प्रभावित हुनेछ। साउदी अरेबिया, यूएई र कुवेतजस्ता प्रमुख उत्पादक राष्ट्रहरूको तेल निकासीका लागि यो मुख्य मार्ग हो। इरानले उक्त मार्ग अवरुद्ध गरेमा मूल्यमा अनियन्त्रित उछाल आउने अनुमान गरिएको छ।

वित्तीय संस्थाहरूले पनि जोखिम बढेको औँल्याएका छन्। गोल्डम्यान स्याक्सका अनुसार तेलको मूल्यमा ‘रिस्क प्रिमियम’ जोडिन थालिसकेको छ। इरानको उत्पादन वा पूर्वाधारमा थप क्षति पुगेमा मूल्यमा ५ देखि १० डलरसम्म थप वृद्धि हुन सक्ने आकलन गरिएको छ। त्यस्तै एएनजेड बैंकका विश्लेषकहरूले आपूर्ति शृङ्खला कमजोर बन्दै गएको र बजारमा अनिश्चितता बढेको बताएका छन्।

तेलको मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाउने जोखिम पनि बढाएको छ। भारतजस्ता देश, जसले आफ्नो आवश्यकताको ठूलो हिस्सा आयात गर्छन्, प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्। इन्धन महँगिँदा ढुवानी खर्च बढ्ने र त्यसको असर दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्नेछ।

नेपालमा पनि यसको प्रभाव पर्न सक्ने देखिन्छ। नेपालले प्रयोग गर्ने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतमार्फत आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिको असर घरेलु बजारमा अनिवार्य रूपमा देखिनेछ।

हाल विश्व बजारको ध्यान इरानको आगामी कदमतर्फ केन्द्रित छ। यदि द्वन्द्व थप चर्कियो वा ओपेक राष्ट्रहरूले उत्पादन वृद्धि नगरे मूल्यले नयाँ उचाइ लिन सक्ने विश्लेषण गरिएको छ। अमेरिका आफ्ना रणनीतिक भण्डारबाट तेल निकासी गरी मूल्य नियन्त्रणको प्रयास गर्न सक्छ, तर त्यसको प्रभाव युद्धको अवस्थामै निर्भर रहनेछ। - एजेन्सीको सहयोगमा

मध्यपूर्व तनावबीच तेल महँगिए पनि नेपालमा तत्काल असर नपर्ने निगमको दाबी

संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि संयुक्त आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्न थालेको छ। तर त्यसको तत्काल प्रभाव नेपालमा नपर्ने नेपाल आयल निगमले जनाएको छ।

निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले अन्तर्राष्ट्रिय बजारको उतारचढावबारे आधिकारिक जानकारी नलिई हल्लाका आधारमा निष्कर्षमा नपुग्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार निगमसँग पर्याप्त मौज्दात रहेकाले पेट्रोलियम पदार्थको अभाव नहुने र होली तथा निर्वाचनको बिदामा पनि वितरण निरन्तर रहनेछ। केही पेट्रोल पम्पमा आइतबार देखिएको लाइन अस्थायी रहेको र सोमबारदेखि आपूर्ति सहज हुने उनले बताए।

निर्वाचनका कारण माग ५ देखि १० प्रतिशतसम्म बढेको छ। दैनिक पेट्रोल र डिजेलको खपत उल्लेख्य रूपमा बढेकोले त्यसअनुसार आयात पनि बढाइएको निगमको भनाई छ। हाल निगमसँग करिब १५ दिनका लागि पुग्ने मौज्दात रहेको बताइएको छ।

नेपालले शतप्रतिशत पेट्रोलियम पदार्थ भारतबाट आयात गर्छ। मूल्य समायोजन हरेक १५ दिनमा हुने भएकाले तत्काल मूल्य नबढ्ने तर आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार समायोजन हुन सक्नेछ।

यसैबीच, (ओपेक प्लस) बैठकले आगामी अप्रिलदेखि दैनिक २ लाख ६ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने सहमति गरेको छ। मध्यपूर्वमा बढ्दो तनावका बीच आपूर्ति अवरोधको जोखिमलाई ध्यानमा राख्दै उत्पादन वृद्धिबारे निर्णय गरिएको जनाइएको छ।