वीरगन्ज । भारतको महावाणिज्य दूतावास मार्फत भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता औपचारिक रूपमा हस्तान्तरण गरेको छ। बीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन।
नेपालमा आगामी निर्वाचनको तयारी तीव्र भइरहेका बेला नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले सहयोगस्वरूप उपलब्ध गराएको चौथो खेपमा ३० वटा एक टन क्षमताका ट्रकसहित अन्य आवश्यक सामग्री समावेश छन्। यी सवारी साधनहरू निर्वाचन सामग्री ढुवानी, जनशक्ति परिचालन तथा दुर्गम क्षेत्रसम्म आवश्यक उपकरण पुर्याउन प्रयोग गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले समयमै सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले आगामी निर्वाचन सफल, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताउनुभयो। “निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो। यसलाई प्रभावकारी बनाउन प्राप्त सहयोग महत्वपूर्ण छ,” उनले भने।
महावाणिज्य दूत मीनाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा घनिष्ठ रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियालाई सुदृढ बनाउन भारत सरकार सदैव सकारात्मक रहेको बताए। उनका अनुसार लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण र निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउने प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको छ।
यसअघि भारत सरकारले निर्वाचन सम्बन्धी सहायताका पहिलो तीन किस्तामार्फत ५८० भन्दा बढी सवारी साधन र अन्य उपकरणहरू नेपाललाई हस्तान्तरण गरिसकेको छ। चौथो किस्तासहित सहयोगको दायरा अझ विस्तार भएको छ।
दुवै देशबीचको बहुआयामिक विकास साझेदारी अन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। निर्वाचन सहयोगलाई पनि त्यही साझेदारीको निरन्तरताका रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार समयमै उपलब्ध गराइएका सवारी साधन र सामग्रीहरूले दुर्गम तथा भौगोलिक रूपमा जटिल क्षेत्रमा निर्वाचन सामग्री पुर्याउन सहजता ल्याउने अपेक्षा गरिएको छ। यसले निर्वाचनको विश्वसनीयता र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
नेपाल र भारतबीचको आपसी सहयोग, विश्वास र मित्रताको प्रतिकका रूपमा लिइएको यस सहायताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न प्राप्त सहयोग महत्वपूर्ण हुने सरकारी अधिकारीहरूले बताएका छन्।
आर्थिकन्यूज