अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा भएको ड्रोन आक्रमणमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको छ। सोमबार अबुधाबीस्थित नेपाली राजदूतावासले यसबारे आधिकारिक जानकारी दिएको हो।
दिवस तीन वर्षअघि वैदेशिक रोजगारीका लागि यूएई गएका थिए। गत असोजमा नेपाल फर्की परिवारसँग चाडबाड मनाएका थिए। अर्को छुट्टीमा विवाह गर्ने योजना बनाएर फर्किएका उनी अब कहिल्यै नफर्किने गरी संसारबाट बिदा भए।
शनिबार साँझ दिवसले आफ्ना बुवा चामबहादुर श्रेष्ठसँग अन्तिम पटक फोनमा कुरा गरेका थिए। आक्रमणअघि उनले फेसबुकमा स्ट्याटस लेख्दै अबुधाबीको अवस्था सामान्य रहेको उल्लेख गरेका थिए। तर त्यो नै उनको अन्तिम स्ट्याटस बन्न पुग्यो।
राजदूतावासले जनाएको छ कि अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इष्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत दिवसको मृत्यु भएको हो। यूएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारीअनुसार उनी घटनामा मारिएका हुन्।
दिवस गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका–७ ठाटीबजारका स्थायी बासिन्दा थिए। उनी चामबहादुर श्रेष्ठका एक्ला छोरा थिए। परिवारमा आमा र बुबा मात्र घरमा बसिरहेका थिए। छोरीको विवाह भइसकेको थियो र श्रीमती काठमाडौंमा सुत्केरी छोरीको स्याहारमा व्यस्त थिइन्।
आर्थिकन्यूज