काठमाडौं । काठमाडौंका दुई स्थानमा सवारी साधन आगजनी गरिएको अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार बिहान नैकाप र सुकेधारामा गाडीहरूमा आगो लगाइएको सूचना प्राप्त भएको हो।
नैकापस्थित पुल नजिक बा ७ च १४०१ नम्बरको भ्यान आगजनी भइरहेको अवस्थामा फेला परेको थियो। त्यस्तै, सुकेधारामा बा एए २८३६ नम्बरको कार जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
‘बिहान करिब पौने ३ र पौने ४ बजेतिर घटना भएको देखिन्छ। आगजनीको खबर पाएपछि दमकल टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो,’ एसपी भट्टराईले बताए।
प्रहरीका अनुसार घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चा फेला परेका छन्। प्रारम्भिक आशंका उनकै समूहमा आबद्ध व्यक्तिहरूमाथि गरिएको छ।
दुबै सवारी साधनका धनीहरू सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। सवारीधनीको खोजीका साथै फेला परेका पर्चाका आधारमा सम्बन्धित समूहबारे अनुसन्धान अघि बढाइएको छ। प्रसाईंमाथि आगामी फागुन २१ गते हुने निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप लागेको छ। उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा रहेका छन्।
आर्थिकन्यूज