शीर्षकहरू

चुनावी माहोलबीच बजार सन्तुलनमा केन्द्रीय बैंकको ध्यान : ६ दिनका लागि १ खर्ब रुपैयाँ खिच्दै

बैंकहरूको करिब ९ खर्ब रुपैयाँ राष्ट्र बैंकमै थन्कियो, कर्जा विस्तार सुस्त

चुनावी माहोलबीच बजार सन्तुलनमा केन्द्रीय बैंकको ध्यान : ६ दिनका लागि १ खर्ब रुपैयाँ खिच्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंक ले ६ दिन अवधिका लागि १ खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले फागुन १९ गते दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था छ।

बैंकहरूको करिब ९ खर्ब रुपैयाँ राष्ट्र बैंकमै थन्कियो, कर्जा विस्तार सुस्त

बैंक तथा वित्तीय संस्थासँग रहेको करिब ९ खर्ब रुपैयाँ अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको छ। वित्तीय प्रणालीमा पर्याप्त तरलता कायम रहे पनि कर्जा विस्तार अपेक्षित रूपमा नबढेपछि रकम विभिन्न मौद्रिक उपकरणमार्फत केन्द्रीय बैंकमै पार्क गरिएको हो।

नेपाल राष्ट्र बैंक ले निक्षेप संकलन बोलकबोल, स्थायी तरलता सुविधा र राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट रकम उठाउँदै आएको छ।

राष्ट्र बैंकका अनुसार आइतबारसम्म ८ खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ विभिन्न उपकरणमार्फत केन्द्रीय बैंकमै लगानीका रूपमा रहेको छ। त्यसमध्ये ५ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल, २ खर्ब रुपैयाँ ऋणपत्र र १ खर्ब २४ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधाअन्तर्गत रहेको छ।

चालू आर्थिक वर्षमा राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्बभन्दा बढी, स्थायी तरलता सुविधामार्फत ३०७ खर्बभन्दा बढी र ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ उठाइसकेको छ। आइतबार मात्र ८७ दिन अवधिका लागि १ खर्ब १० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल जारी गरिएको थियो, जसमा बैंकहरूले १ खर्ब १४ अर्ब रुपैयाँका लागि प्रस्ताव पेश गरेका थिए।

राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको अवस्था लामो समयसम्म कायम रहने संकेत देखिएकाले लामो अवधिका उपकरणमार्फत तरलता प्रशोचन गरिएको हो।

यद्यपि, अधिक तरलता र न्यून ब्याजदरको वातावरण हुँदाहुँदै पनि कर्जा विस्तार सुस्त देखिएको छ। चालू आवमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२ प्रतिशतले बढ्ने लक्ष्य राखिएकोमा पुससम्म वार्षिक आधारमा ६.७ प्रतिशतले मात्र वृद्धि भएको छ। साउनदेखि पुससम्म निक्षेप ४ खर्ब १७ अर्ब रुपैयाँले बढ्दा कर्जा विस्तार भने १ खर्ब ९७ अर्ब रुपैयाँमा सीमित रहेको छ।

गत बिहीबारसम्म बैंकहरूसँग करिब १२ खर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्न सक्ने लगानीयोग्य पूँजी रहेको राष्ट्र बैंकको तथ्यांक छ। हाल बैंकहरूको कर्जा–निक्षेप अनुपात ७४.४० प्रतिशत छ, जबकि ९० प्रतिशतसम्म कर्जा विस्तार गर्न पाउने प्रावधान छ।

राष्ट्र बैंकले भने न्यून ब्याजदर, उच्च तरलता र पर्याप्त विदेशी मुद्रा सञ्चितिलाई आर्थिक गतिविधि विस्तारका लागि अवसरका रूपमा व्याख्या गरेको छ। तर, आर्थिक गतिविधि सुस्त रहेकाले तरलता उपयोग हुन नसकेको देखिएको छ।

चुनावअघि तरलता सन्तुलनको संकेत

पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले सातामा दुई पटक नियमित रूपमा तरलता व्यवस्थापन गर्दै आएको थियो। तर, निर्वाचनका लागि सार्वजनिक बिदा परेकाले नियमित दिनभन्दा फरक मंगलबार नै ठूलो परिमाणमा रकम खिचिएको हो। यसलाई विश्लेषकहरूले चुनावी अवधिमा बजारमा अनावश्यक तरलता जम्मा भई सट्टेबाजी, विनिमय दर दबाब वा अल्पकालीन ब्याजदर अस्थिरता नआओस् भन्ने सावधानीका रूपमा व्याख्या गरेका छन्।

फागुन महिनामै यसअघि ४० अर्ब, ३० अर्ब, ४० अर्ब र १ खर्ब १० अर्ब रुपैयाँ खिचिसकेको राष्ट्र बैंकले पुनः १ खर्ब झिक्न लाग्नुले बैंकिङ प्रणालीमा ऋण दिन मिल्ने रकम उल्लेख्य रूपमा थुप्रिएको संकेत गर्छ।

बजारमा अधिक तरलता हुँदा अन्तरबैंक ब्याजदर घट्ने, निक्षेप दरमा दबाब आउने र कर्जाको आक्रामक विस्तार हुनसक्ने अवस्था सिर्जना हुन्छ। राष्ट्र बैंकको यो कदमले अल्पकालीन रूपमा ब्याजदर स्थिर राख्न र मौद्रिक नीतिको लक्ष्यअनुसार तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, लगातार ठूलो परिमाणमा तरलता खिचिनुले कर्जा विस्तारको गतिमा भने केही प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ। चुनावी माहोल र सार्वजनिक बिदाका बीच केन्द्रीय बैंकले बजार सन्तुलनलाई प्राथमिकता दिएको संकेत यस निर्णयबाट देखिन्छ।