एजेन्सी । इजरायल–अमेरिका र इरानबीच जारी युद्ध आज चौथो दिनमा प्रवेश गरेको छ। यस क्रममा इजरायलले इरानको करिब ५०० वर्ष पुरानो गोलिस्तान प्यालेस*मा आक्रमण गरेको बताइएको छ। आक्रमणबाट दरबारको केही भागमा क्षति पुगे पनि त्यहाँ रहेका ऐतिहासिक तथा बहुमूल्य सामग्रीलाई पूर्वतयारीका साथ सुरक्षित स्थानमा सारिएकाले ती सामग्री जोगिएको जनाइएको छ।
इरानी समाचार एजेन्सी मेहर समाचार एजेन्सीका अनुसार १६औँ शताब्दीमा सफाविद कालमा निर्माण गरिएको उक्त दरबार लामो समयसम्म इरानी शासकहरूको आवास तथा सत्ता केन्द्रका रूपमा प्रयोग हुँदै आएको थियो। हाल यो प्रमुख पर्यटकीय स्थलका रूपमा परिचित छ। सन् २०१३ मा यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई यथाशीघ्र त्यहाँबाट बाहिरिन आग्रह गरेका छन्। सोमबार ह्वाइट हाउसमा दिएको अभिव्यक्तिमा उनले इरानमाथि अझ ठूलो आक्रमण हुन बाँकी रहेको दाबी गर्दै युद्ध ४–५ हप्तासम्म लम्बिन सक्ने, आवश्यकता परे थप समय पनि जारी रहन सक्ने बताएका छन्।
अल-जजीराको रिपोर्टअनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका एक हजारभन्दा बढी स्थानमा आक्रमण गरिसकेका छन्। प्रारम्भिक ३० घण्टामै दुई हजारभन्दा बढी बम प्रहार गरिएको दाबी गरिएको छ।
आक्रमणमा हालसम्म ७४२ जनाको मृत्यु भएको, जसमध्ये १७६ बालबालिका रहेको जनाइएको छ। ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। फेब्रुअरी २८ देखि सुरु भएको यस द्वन्द्वको पहिलो दिनको बमबारीमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई मारिएको दाबी गरिएको छ। साथै आइतबार तीन अमेरिकी सैनिकको पनि ज्यान गएको बताइएको छ।
आर्थिकन्यूज