शीर्षकहरू

सोयाबिन तेलको ‘री-एक्सपोर्ट’ मा उछाल, सात महिनामा ७८ अर्बको प्रशोधित तेल निर्यात

सोयाबिन तेल आयात-निर्यात दुवैमा अग्रस्थानमा

सोयाबिन तेलको ‘री-एक्सपोर्ट’ मा उछाल, सात महिनामा ७८ अर्बको प्रशोधित तेल निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उच्च दरले बढेका छन् । भन्सार विभागका अनुसार साउनदेखि माघसम्म ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड  रुपैयाँ बराबरको प्रशोधित खाद्य तेल निर्यात भएको छ ।

विशेषगरी भारतले कच्चा र प्रशोधित खाद्य तेलमा भन्सार संरचना परिवर्तन गरेपछि नेपालमा आयात–निर्यात असामान्य रूपमा बढेको हो । भारत सरकारले मे २०२५ मा कच्चा पाम, सोयाबिन र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाएको थियो ।

आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख लिटर कच्चा भटमास तेल भित्रिएको छ । सोही अवधिमा ६६ अर्ब ७८ करोड रुपैयाँ बराबरको ३२ करोड ४१ लाख  लिटर प्रशोधित भटमास तेल निर्यात भएको छ ।

कुल निर्यातमा सबै प्रकारका खाद्य तेलको हिस्सा करिब ४६.५ प्रतिशत छ, जसमध्ये भटमास तेल मात्रै करिब ४० प्रतिशत ओगटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब २९ करोड रुपैयाँ बराबरको २५ करोड ९२ लाख लिटर कच्चा भटमास तेल आयात भएको थियो । प्रशोधित भटमास तेल निर्यात ३२ अर्ब ४१ करोड रुपैयाँ बराबरको १५ करोड ८१ लाख किलो थियो । यस आधारमा चालू आवमा कच्चा भटमास तेल आयात ८५.३८ प्रतिशत र प्रशोधित तेल निर्यात १०६ प्रतिशतले बढेको देखिन्छ ।

प्रशोधित तेलमा भने ३५.७५ प्रतिशत कर यथावत् राखिएको छ । यसअघि सेप्टेम्बर २०२४ मा भारतले स्वदेशी किसान संरक्षणका लागि कच्चा र प्रशोधित दुवै तेलमा कर बढाएको थियो । त्यसको अप्रत्यक्ष फाइदा नेपाललाई पुगेको थियो, किनकि नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधनपछि भारत निर्यात गर्दा ‘साफ्टा’ अन्तर्गत भन्सार छुट पाइरहेको छ ।

कच्चा भटमास तेल मुख्यतः अर्जेन्टिना, ब्राजिल, चीन, थाइल्यान्ड, पाराग्वे, युक्रेन र कतारबाट आयात हुन्छ । सबैभन्दा बढी ५९ अर्ब १३ करोड रुपैयाँ बराबरको ३७ करोड २४ लाख लिटर अर्जेन्टिनाबाट आयात भएको छ । प्रशोधित तेलको प्रमुख तथा लगभग एकमात्र बजार भारत नै हो ।

सोयाबिन तेल आयात-निर्यात दुवैमा अग्रस्थानमा

चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा कच्चा सोयाबिन तेल आयात र निर्यात दुवैमा पहिलो स्थानमा देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि माघसम्म ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ भने ६६ अर्ब ७८ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ।

आयाततर्फ दोस्रो स्थानमा डिजेल (६९ अर्ब ९१ करोड) र तेस्रोमा पेट्रोल (३८ अर्ब १३ करोड) रहेका छन्। खाना पकाउने ग्यास ३१ अर्ब ८५ करोड रुपैयाँ बराबर आयात भएको छ। यस अवधिमा २६ अर्ब ६८ करोड रुपैयाँका स्मार्टफोन र २१ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ।

निर्याततर्फ सोयाबिन तेलपछि अलैंची (८ अर्ब ६१ करोड) र सनफ्लावर तेल (५ अर्ब ७८ करोड) प्रमुख छन्। सूर्यमुखीको बीउ र तेल ५ अर्ब ७८ करोड रुपैयाँसहित तेस्रो स्थानमा छ । गलैंचा ५ अर्ब ७१ करोड रुपैयाँ निर्यात भएको छ, जसको बजार भारतसहित ६४ देशमा फैलिएको छ । 

सात महिनामा कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँको आयात र १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ। व्यापार घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। आयात–निर्यात अनुपात ६.६९ रहेको छ, अर्थात् १ रुपैयाँ निर्यात हुँदा ६ रुपैयाँभन्दा बढी आयात भइरहेको छ।

१५३ देशसँग व्यापार, १२३ देशसँग घाटा र ३० देशसँग नाफा

नेपालले यो अवधिमा १५३ देशसँग व्यापार गरेको छ, जसमध्ये १२३ देशसँग घाटा र ३० देशसँग नाफा भएको छ। सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग ४ खर्ब ९१ अर्ब रुपैयाँ बराबर छ। भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ३७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ। चीनसँग २ खर्ब ३४ अर्ब रुपैयाँ घाटा रहेको छ।

अर्जेन्टिनाबाट ६६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ भने यूएई, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र अष्ट्रेलियासँग पनि उल्लेख्य व्यापार घाटा देखिएको छ।

यस अवधिमा पेट्रोलियम पदार्थ आयात मात्रै १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन कुल निर्यातभन्दा बढी हो। तेलघिउ, आइरन–स्टिल, विद्युतीय उपकरण, मेसिनरी, सवारीसाधन, मल र तरकारी आयात पनि उच्च रहेको छ।

यद्यपि, निर्यात ३२ प्रतिशतभन्दा बढीले बढेको तथ्यांकले देखाएको छ। कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १५.७६ प्रतिशतले बढेको छ। निर्यातको हिस्सा १३.०२ प्रतिशत पुगेको छ, जुन गत वर्षको तुलनामा सुधार हो।

भन्सार विभागका अनुसार निर्वाचनको माहोलसँगै आर्थिक गतिविधि चलायमान हुँदा आयात–निर्यात दुवैमा वृद्धि देखिएको छ। तर आयातको तुलनामा निर्यात अझै कमजोर रहेकाले व्यापार सन्तुलनमा चुनौती कायमै रहेको छ।