काठमाडौं। हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव अघि बढाएको छ।
कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन लगायतका प्रस्ताव पारित गर्न चैत १२ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा दिउँसो १ बजे बस्नेछ।
सभामा आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। त्यस्तै, कम्पनीको नाम परिवर्तन, प्रबन्धपत्रका विभिन्न दफा तथा उपदफा संशोधन तथा कार्यकारी प्रबन्ध सञ्चालकको तलब–भत्ता निर्धारणसम्बन्धी प्रस्तावसमेत छलफलका लागि राखिएको छ।
गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डासमेत सभामा प्रस्तुत हुने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज