काठमाडौं । मध्यपूर्वी युद्ध र तनावका कारण नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।
विमानस्थलका प्रवक्ता सन्तोष कुमार बस्नेतका अनुसार “सम्बन्धित क्षेत्रको एयर स्पेस नखुलुन्जेल नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुने छैन। उडान भर्न नसकेका एयरलाइन्सका जहाजहरू अहिले विमानस्थलमै पार्किङमा छन् र एयर स्पेस खुलेको सूचना पाएलगत्तै स्ट्यान्डबाइ अवस्थामा उडानका लागि तयार राखिएका छन्,” उनले बताए। तर, कहिले एयर स्पेस खुल्छ र उडान कहिलेबाट सुरु हुन्छ भन्ने जानकारी अहिले उपलब्ध छैन।
विशेषगरी इरान, इजरायल, सिरिया, लेबनान लगायतका मध्यपूर्वी (खाडी) क्षेत्रहरूमा युद्ध र हवाई आक्रमणको उच्च जोखिम भएकाले त्यहाँको आकासमा उडान ठप्प भएको छ। अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण एसियालाई युरोप र अमेरिका जोड्ने मुख्य हवाई मार्ग प्रभावित भएको छ।
यो स्थिति नेपालबाट उड्ने अधिकांश अन्तर्राष्ट्रिय विमानहरूको ट्रान्जिट मार्गमा प्रत्यक्ष असर पारिरहेको छ। विश्वका अन्य शान्त क्षेत्रहरू (जस्तै अमेरिका, युरोप वा पूर्वी एसियाली देशहरू) मा भने हवाई उडानहरू नियमित रूपमा सञ्चालन भइरहेको छ।
अन्तर्राष्ट्रिय उडान रोकिएसँगै वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि विदेश जान लागेका हजारौं यात्रुहरू काठमाडौँमै अलपत्र परेका छन्। विमानस्थल प्रशासनले यात्रुहरूलाई एयरलाइन्ससँग सम्पर्कमा रहन र आधिकारिक सूचना आएपछि मात्रै उडानका लागि तयारी गर्न आग्रह गरेको छ।
आर्थिकन्यूज