शीर्षकहरू

मध्यपूर्व द्वन्द्वका बाबजुद नेपालमा तत्काल इन्धन अभाव नहुने : व्यवसायी घिमिरे

मध्यपूर्व द्वन्द्वका बाबजुद नेपालमा तत्काल इन्धन अभाव नहुने : व्यवसायी घिमिरे

काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण नेपालमा तत्काल पेट्रोलियम पदार्थ अभावको अवस्था सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

घिमिरेका अनुसार विगतमा विभिन्न कारणले नेपालमा बेलाबेला पेट्रोलियम पदार्थको अभाव देखिने गरेकोले अन्तर्राष्ट्रिय द्वन्द्वका बेला अभावको त्रास फैलिनु स्वाभाविक हो । “विगतका अनुभवका आधारमा जनमानसमा त्रास देखिनु अस्वाभाविक होइन,” उनले भने, “तर समग्र आपूर्ति अवस्था हेर्दा तत्काल अभाव हुने संकेत देखिँदैन।”

उनले हालको द्वन्द्वले उत्पादन र आपूर्ति शृंखलामा केही प्रभाव पार्न सक्ने भए पनि त्यसको असर नेपालमा तत्काल नपर्ने स्पष्ट पारे । केही दिनअघि ग्यास अभावको हल्ला फैलिएपछि इन्धनकै व्यापक अभाव हुने आशंका बढेको उल्लेख गर्दै उनले त्यसलाई अतिरञ्जित रूपमा नलिन आग्रह गरे ।

घिमिरेका अनुसार अन्य इन्धनको तुलनामा एलपी ग्यासको आपूर्ति शृंखला फरक प्रकृतिको छ । नेपालमा प्रयोग हुने ग्यास बुलेट भारतबाट मात्र आउने र ढुवानी व्यवस्था पनि भारतमै निर्भर रहने भएकाले कहिलेकाहीँ आपूर्तिमा समस्या देखिने गरेको छ । “बुलेट अभाव वा भारतीय आयातकर्ताले आन्तरिक बजारलाई प्राथमिकता दिँदा नेपालमा असर पर्न सक्छ,” उनले भने।

यद्यपि हाल बुलेट अभावको समस्या समाधान भइसकेको र जाडो याम सकिँदै जाँदा ग्यासको खपत घट्ने भएकाले तत्काल अभावको अवस्था नआउने उनले बताए ।

पश्चिम एसियामा जारी युद्धका कारण सर्वसाधारणमा इन्धन अभावको मनोवैज्ञानिक त्रास देखिँदा सामान्य समयभन्दा बढी खपत भएको उनले स्वीकार गरे । तर, समस्या समाधानतर्फ उन्मुख भइसकेको उनको दाबी छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडान घट्दा हवाई इन्धनको खपत कम भएको र नेपालमा भण्डारण पर्याप्त रहेकाले समग्र इन्धन आपूर्तिमा तत्काल संकट आउने अवस्था नरहेको घिमिरेले स्पष्ट पारे ।