शीर्षकहरू

अन्तर्राष्ट्रिय द्वन्द्वबाट अर्थतन्त्र जोगाउन सुरक्षात्मक रणनीति आवश्यक : वाणिज्यविद् सैंजु

अन्तर्राष्ट्रिय द्वन्द्वबाट अर्थतन्त्र जोगाउन सुरक्षात्मक रणनीति आवश्यक : वाणिज्यविद् सैंजु

काठमाडौं । वाणिज्यविद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसियामा जारी द्वन्द्वबाट नेपालले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सैंजुले अन्तर्राष्ट्रिय घटनाक्रमले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावलाई गम्भीर रूपमा विश्लेषण गर्दै सुरक्षात्मक रणनीति अपनाउन आवश्यक रहेको बताए । “अर्को देशमा भएको द्वन्द्वले हाम्रो अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने बुझ्नु र त्यसअनुसार सुरक्षाको बाटो अपनाउनु आजको आवश्यकता हो,” उनले भने, “बाह्य घटनाबाट पर्ने प्रभावलाई समयमै आकलन गरेर अघि बढ्नुपर्छ।”

उनका अनुसार द्वन्द्वको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा देखिन सक्छ । हवाई यातायात प्रभावित हुँदा पर्यटक आवागमनमा अवरोध आउने र त्यसले नेपालको पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको उनले औंल्याए ।

“हाल विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुँदा यात्रु तथा पर्यटक रोकिनुपर्ने अवस्था देखिएको छ,” उनले भने, “यस्ता परिस्थितिले नेपाल आउने पर्यटक संख्यामा कमी ल्याउन सक्छ।”

सैंजुले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले अन्तर्राष्ट्रिय अस्थिरताले नेपालको पर्यटन उद्योगमा प्रत्यक्ष असर पार्ने चेतावनी दिए ।