शीर्षकहरू

हुवावेले दुर्गम क्षेत्रमा १७ करोड मानिसलाई डिजिटल सञ्जालसँग जोड्यो

हुवावेले दुर्गम क्षेत्रमा १७ करोड मानिसलाई डिजिटल सञ्जालसँग जोड्यो

बार्सिलोना, स्पेन । हुवावे टेक्नोलोजीले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ अन्तर्गत रहेको पार्टनर टु कनेक्ट डिजिटल गठबन्धनको प्रतिबद्धता लक्ष्यलाई पार गरेको छ। कम्पनीले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका करिब १७ करोड मानिसलाई डिजिटल कनेक्टिभिटीमा जोडेको छ।

हुवावे आईसीटी व्यवसाय समूहका प्रमुख कार्यकारी अधिकृत याङ चाओबिनले स्पेनको बार्सिलोनामा आयोजित कम्पनीको प्रविधि सम्बन्धी कार्यक्रम टेक केयर्स फोरममा उक्त जानकारी दिएका हुन्। सन् २०२२ मा आईटीयू पी२सी डिजिटल गठबन्धनमा सहभागी हुँदा हुवावेले सन् २०२५ सम्म दुर्गम क्षेत्रमा १२ करोड मानिसलाई डिजिटल सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको थियो। तर हाल कम्पनीले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्दै १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गरेको छ।

कार्यक्रममा याङ चाओबिनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकास भइरहे पनि डिजिटल विभाजन अझै कायम रहेको र यसले थप फराकिलो हुने जोखिम रहेको बताए। समावेशी र दिगो एआई युगका लागि उच्च–गतिको डिजिटल सञ्जाल र शक्तिशाली कम्प्युटिङ क्षमता आधारभूत आवश्यकता भएको उनको भनाइ थियो।

आईटीयू दूरसञ्चार विकास ब्यूरोका निर्देशक कोस्मास जावाजाभाले डिजिटल विभाजन न्यूनीकरणमा हुवावेले पुर्‍याएको योगदानको प्रशंसा गरे। ग्रामीण तथा सेवा–विहीन समुदायलाई जोड्न नवप्रवर्तनमूलक व्यवसायिक मोडेल, समावेशी दृष्टिकोण, सञ्चार स्रोतको प्रभावकारी उपयोग र स्थानीय क्षमतामा निरन्तर लगानी आवश्यक रहेको उनले बताए।

हुवावे सार्वजनिक मामिला तथा सञ्चार विभागका अध्यक्ष जेफ वाङका अनुसार डिजिटल समावेशीकरण दुई आधारमा केन्द्रित छ, समावेशी कनेक्टिभिटी र डिजिटल सीप सशक्तीकरण। डिजिटल सीप अभाव समाधान गर्न कम्पनीले सरकार तथा विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित पाठ्यक्रम विकास कार्यक्रम सञ्चालन गरिरहेको छ।

सन् २०१९ मा सुरु गरिएको स्किल्स अन ह्वील्स कार्यक्रममार्फत २१ देशका करिब १ लाख ३० हजार मानिसलाई मोबाइल डिजिटल तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ।

ग्रामीण सञ्जाल प्रविधि विकासका क्रममा हुवावेले सन् २०१७ देखि ग्रामीण श्रृंखला समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ। नोभेम्बर २०२५ मा सुरु गरिएको हुवावे ग्रामीण काउ समाधानमार्फत नाइजेरियाको एमटिएन नाइजेरिया सँगको सहकार्यमा करिब १५ सय जनसंख्या रहेको गाउँसम्म दूरसञ्चार सेवा विस्तार गरिएको छ।

यी प्रविधिगत समाधानहरूले १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी पुर्‍याउने लक्ष्य हासिल गर्न सहयोग पुर्‍याएको कम्पनीले जनाएको छ। आगामी दिनमा हुवावेले ग्रामीण सञ्जाल प्रविधिमा नवप्रवर्तनलाई निरन्तरता दिँदै खुला सहकार्य र डिजिटल सीप सशक्तीकरण कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।