काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौती थपिएको बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
खरेलका अनुसार कोरोना महामारीपछि अर्थतन्त्र सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी–पहिरो र पछिल्लो समय पश्चिम एसियाको द्वन्द्वले आर्थिक पुनरुत्थानको प्रयासलाई थप चुनौती दिएको छ। आगामी निर्वाचनपछि बन्ने नयाँ सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने अपेक्षा गरिएको अवस्थामा द्वन्द्वले थप जोखिम सिर्जना गरेको उनले बताए।
उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भए पनि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको र नयाँ सरकार बनेपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा अन्तर्राष्ट्रिय द्वन्द्वले पुनः चुनौती थपेको उल्लेख गरे।
खरेलका अनुसार मध्यपूर्वका १७ देशमध्ये १५ देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ भने चार वटा देशबाट मात्रै कुल रेमिट्यान्सको करिब ३५ प्रतिशत हिस्सा आउने गरेको छ। पश्चिम एसियाको द्वन्द्व लामो समयसम्म कायम रहेमा करिब ४१ प्रतिशतसम्म रेमिट्यान्स प्रभावित हुन सक्ने जोखिम रहेको उनले औंल्याए।
उनले तत्काल समग्र देशमा ठूलो समस्या नदेखिए पनि रेमिट्यान्स पठाउने श्रमिकको परिवारमा भने असर पर्ने सम्भावना रहेको बताए। साथै, पछिल्लो छ महिनामा करिब ६ लाख पर्यटक नेपाल भित्रिए पनि मध्यपूर्वबाट आउने पर्यटक घट्न सक्ने भएकाले पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने उनको भनाइ छ।
खरेलले मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्य वृद्धि हुन सक्ने र त्यसले उत्पादन लागत बढाउन सक्ने बताए। साथै सुनचाँदीको माग बढ्ने तथा विदेशी विनिमय सञ्चितिमा समेत प्रभाव पर्ने जोखिम रहेको उनले उल्लेख गरे।
आर्थिकन्यूज