काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने निर्णय गरेको छ। यता काठमाडौंको रहेको कतार एअरवेजमा पनि नेपालीहरुको ठूलो भिड देखिएको छ । उक्त एयरलाइन्सको काउन्टरमा दैनिक नेपालीहरु टिकटका बारेमा बुझ्न आउने गरेको एयरलाइन्सका कर्मचारीले जानकारी दिए ।
कतारको आन्तरिक मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार म्याद सकिएका वा सकिन लागेका सम्पूर्ण प्रकारका प्रवेश भिसा फेब्रुअरी २८ (शनिबार)देखि लागू हुने गरी एक महिनाका लागि थप गरिनेछ।
मन्त्रालयका अनुसार भिसा नवीकरण स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा हुनेछ। यसका लागि सेवाग्राहीले कुनै शुल्क तिर्नु पर्ने छैन भने कार्यालय धाउन वा छुट्टै निवेदन दिनुपर्ने आवश्यकता पनि रहने छैन।
तर, फेब्रुअरी २८ भन्दा अघि ओभरस्टे गरेका व्यक्तिहरूले भने तोकिएको जरिवाना अनिवार्य रूपमा बुझाउनुपर्नेछ। जरिवाना भुक्तानी गरेपछि मात्रै उनीहरूलाई पनि सोही मितिदेखि लागू हुने गरी भिसा नवीकरण तथा शुल्क छुटको सुविधा प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
आर्थिकन्यूज