शीर्षकहरू

नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा ‘र्‍यापिड एक्सन टिम’ गठन

नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा ‘र्‍यापिड एक्सन टिम’ गठन

काठमाडौं । नेपाल सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ ।

उक्त द्वन्द्वको अवस्थामा नेपाली नागरिकको अवस्था बारे नियमित जानकारी लिन, अन्तरसरकारी निकायसँग समन्वय गर्न तथा उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्ने प्रयोजनले आज उक्त टिम गठन गरिएको हो ।  

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्रसचिवको संयोजकत्वमा गठन भएको उक्त टिमले त्यस प्रयोजनका लागि मित्रराष्ट्र तथा अन्य अन्तरराष्ट्रिय संस्थासँग समन्वय गर्नेछ । टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा विज्ञान प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायललगायत निकायका प्रतिनिधि रहने व्यवस्था छ ।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो टिम गठन र कार्यान्वयनका साथै पश्चिम एसियाको पछिल्लो अवस्थाबारेमा जानकारी दिइयो । मन्त्रालयको मध्यएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले उक्त टिमले कार्यादेशानुसार काम गर्न सुरु गरिसकेको जानकारी दिए । उनले सो क्षेत्रका ट्रान्जिट विमानस्थलमा रहेका नेपालीलाई खान बस्नको प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरी समन्वय भइरहेको बताए । 

अमेरिका र इजरायलले इरानमाथि शनिबार गरेको संयुक्त सैन्य आक्रमणविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण भएको छ । सुरुमा सो क्षेत्रका मुलुकमा रहेका अमेरिकी सेनाका अखडाहरूलाई निशाना बनाएको इरानले पछिल्लो दिनमा विभिन्न मुलुकका विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत अतिसंवेदनशील स्थानमा आक्रमण गरेको छ । युद्धले त्यस क्षेत्रका विभिन्न मुलुकमा रहेका १९ लाखभन्दा बढी नेपाली नागरिकमा अन्योलमा परेका छन् । अर्कोतिर त्यस क्षेत्रका दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने तयारी अवस्थामा रहेका नेपाली नागरिक पनि अलपत्र परेका छन् ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको बताए । नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि सो क्षेत्रका मुलुकमा अवस्थित नेपालका आठ दूतावास र दुई महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय भइरहेको उनले जानकारी दिए । यसैगरी मन्त्रालयले एडभाइजरी जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको प्रवक्ता पौडेलको भनाइ छ ।

मन्त्रालयले आजैदेखि सो क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ । उक्त पोर्टलमा त्यहाँ रहेका नेपालीले आफूलाई परेको अप्ठेरो र जिज्ञासाबारेमा जानकारी गराउने काम सुरु भइसकेको कन्सुलर सेवा विभागका महानिर्देशक दुर्पदा सापकोटाले बताइन् । त्यस सूचना र जानकारीले सहायता गर्न तथा आगामी दिनमा सम्भावित उद्धारका लागि योगदान पुग्ने उनको भनाइ छ ।