शीर्षकहरू

चपलीमा शङ्कास्पद वस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली सक्रिय

चपलीमा शङ्कास्पद वस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली सक्रिय

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–२ अन्तर्गत चपलीमा शङ्कास्पद वस्तु भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले पोको पारिएको प्रेसर कुकरमा तार जोडिएको वस्तु फेला परेको हो।  

एसपी भट्टराईले उक्त वस्तु बम हो वा होक्स भन्ने यकिन नभएको जानकारी दिएका छन्। मध्यराति फेला परेको उक्त वस्तु सेनाले बुधवार बिहान निष्क्रिय बनाउने प्रक्रिया सुरु गरेको छ।  

 घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने प्रयास गरिरहेको छ।  चपलीस्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा वस्तु भेटिएपछि रातभर आवतजावतमा रोक लगाइएको थियो।  सेनाको चन्दननाथ गणबाट १५ जनाको टोली परिचालन गरिएको छ।  प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटिएका छन्।