शीर्षकहरू

युद्धमा फसेका आफ्ना नागरिकको सहयोगका लागि भारतले विदेशमन्त्रालयमा स्पेशल कन्ट्रोल रूम बनायो

युद्धमा फसेका आफ्ना नागरिकको सहयोगका लागि भारतले विदेशमन्त्रालयमा स्पेशल कन्ट्रोल रूम बनायो

एजेन्सी । अमेरिका, इजरायल र इरानबीच जारी युद्धका बीच भारतले आफ्ना नागरिकको सुरक्षालाई ध्यानमा राख्दै विशेष कदम चालेको छ। भारतको विदेश मन्त्रालय (एमईए) ले स्पेशल कन्ट्रोल रूम स्थापना गरी भारतीय नागरिकका लागि विभिन्न हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले ‘एक्स’ मार्फत यसको जानकारी दिएका हुन्।

युद्धका कारण सिर्जित प्रतिकूल अवस्थाबीच मध्यपूर्वी देशहरूबाट भारतीयहरू स्वदेश फर्किने क्रम जारी छ। मंगलबार राति जेद्दा र दुबईबाट उडान भरेका धेरै भारतीयहरू दिल्ली, अहमदाबाद र हैदराबादका अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। स्वदेश फर्किएका नागरिकहरूले आफ्नै देशमा फर्कन पाउँदा राहत महसुस भएको बताएका छन्।

यसैबीच इरानले युद्धको अवस्थालाई देखाउँदै विश्वको अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरू बन्द गरेको जनाएको छ। यसको प्रभावस्वरूप भारतीय झण्डावाहक ३७ जहाज तथा ती जहाजमा सवार १,१०९ भारतीय नाविक फारसको खाडी र ओमानको खाडी क्षेत्रमा अलपत्र परेको बताइएको छ।

युद्धका कारण पश्चिम एसियाका आठ देशले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता भारतीय एयरलाइन्सहरूले १,११७ अन्तर्राष्ट्रिय उडान रद्द गरेका छन्, जसका कारण हजारौँ यात्रु विभिन्न विमानस्थलमा रोकिएका छन्।

उता इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनेईको मृत्युको खबर सार्वजनिक भएको केही घण्टाभित्रै पाकिस्तानमा व्यापक प्रदर्शन भएका छन्। कराचीस्थित अमेरिकी कन्सुलेटतर्फ प्रदर्शनकारीहरूले धावा बोल्ने प्रयास गरेका थिए भने इस्लामाबादको कूटनीतिक क्षेत्रमा प्रहरीसँग झडप भएको जनाइएको छ। सुरक्षा बलसँगको झडपमा कम्तीमा ३४ जनाको मृत्यु भएको र १२० भन्दा बढी घाइते भएको खबर आएको छ।

null