एजेन्सी । इरान–इजरायलबीच जारी युद्धले विश्व सेयर बजारमा ठूलो असर पारेको छ। बुधबार एशियाली बजारहरूमा तीव्र गिरावट देखिएको छ भने लगानीकर्ताबीच त्रास बढेको छ। दक्षिण कोरियाको प्रमुख सूचकाङ्क KOSPI मंगलबार ७.२ प्रतिशतले घटेपछि बुधबार बिहानसम्म १२.३ प्रतिशतसम्म ओरालो लागेको छ। सियोल बजारमा लगानीकर्ताले व्यापक रूपमा सेयर बिक्री गरेपछि सर्किट ब्रेकर लगाउने अवस्था आएको बताइएको छ।
जापानको Nikkei 225 ४.७ प्रतिशतले घटेको छ। युद्ध लम्बिएमा आपूर्ति श्रृंखला र कच्चा तेलको मूल्यमा नकारात्मक प्रभाव पर्ने चिन्ताले बजारमा दबाब परेको छ। ताइवानको TAIEX ३.९ प्रतिशतले घटेको छ भने हङकङको Hang Seng Index मा ३.१ प्रतिशत गिरावट आएको छ।
विश्लेषकहरूका अनुसार इरान प्रमुख तेल उत्पादक राष्ट्र भएकाले होर्मुज जलडमरू अवरुद्ध हुने सम्भावनाले विश्वव्यापी महँगी बढ्न सक्ने आशंका छ। यही अनिश्चितताका कारण लगानीकर्ताले जोखिमयुक्त सम्पत्तिबाट पूँजी झिकेर सुरक्षित मानिने क्षेत्रतर्फ लगानी सारिरहेका छन्।
भारतीय बजारमा पनि यसको प्रभाव देखिएको छ। BSE Sensex १,७१८.३२ अंकले घटेर ७८,५२० विन्दुमा कारोबार भइरहेको छ भने Nifty 50 ५१२ अंकले घटेर २४,३५२ विन्दुमा खुलेको छ।युद्धको अवस्था र भूराजनीतिक तनाव कायम रहे बजारमा थप उतारचढाव आउन सक्ने अनुमान गरिएको छ। नेपालमा भने सरकारले फागुन २१ गते हुने निर्वाचनलाई मध्यनगर गर्दै तीन दिन विदा दिएकाले आज शेयर बजार बन्द रहेको छ ।
आर्थिकन्यूज