शीर्षकहरू

नाबालिग यौन तस्करी प्रकरण : क्लिन्टन दम्पतीको बयान सार्वजनिक

नाबालिग यौन तस्करी प्रकरण : क्लिन्टन दम्पतीको बयान सार्वजनिक

एजेन्सी । अमेरिकाको कुख्यात नाबालिग बालिकाको यौन तस्करी प्रकरणका मुख्य अभियुक्त जेफ्री एप्स्टिनसँग सम्बन्धित विवाद फेरि चर्चामा आएको छ। यस प्रकरणमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले हाउस ओभरसाइट कमिटीसमक्ष दिएको बयानका भिडियो सार्वजनिक भएका छन्।

क्लिन्टन दम्पतीलाई रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको समितिले न्यूयोर्कको चप्पाक्वास्थित निवासमा बन्द ढोका भित्र बयान लिएको थियो। करिब साढे चार घण्टासम्म चलेको सो बयानको भिडियो सोमबार, मार्च २ मा सार्वजनिक गरिएको हो।

हिलारी क्लिन्टनले समितिलाई आफूले एप्स्टिनलाई नचिनेको र उनको गतिविधिबारे कुनै जानकारी नभएको बताएकी छन्।  

बिल क्लिन्टनको बयान

बिल क्लिन्टनले सन् २००८ मा एप्स्टिनको अपराध सार्वजनिक हुनुअघि नै उनीसँगको सम्बन्ध टुटाइसकेको दाबी गरे। उनले २००० को शुरुवाती वर्षहरूमा क्लिन्टन फाउन्डेसनको मानवीय कार्यसँग सम्बन्धित यात्राका क्रममा एप्स्टिनको निजी विमान प्रयोग गरेको स्वीकार गरे।

क्लिन्टनले भने, “जब म उनको वरिपरि थिएँ, त्यहाँ महिलाको तस्करी भइरहेको जस्तो कुनै संकेत मैले देखिनँ।” समितिको प्रश्नमा उनले एप्स्टिन वा उनका सहयोगीहरूमार्फत चिनाइएका कुनै युवा महिला वा बालिकासँग यौन सम्बन्ध रहेको आरोप अस्वीकार गरे। 

साथै उनले करिब २० वर्षअघि गोल्फ कोर्समा डोनाल्ड ट्रम्पसँग भएको भेटको चर्चा गर्दै भने कि ट्रम्पले एप्स्टिनसँग सम्बन्धित कुनै गलत कामबारे आफूलाई कहिल्यै केही नबताएको उल्लेख गरे। यो प्रकरणले अमेरिकी राजनीतिक वृत्तमा फेरि तरंग ल्याएको छ र विषयले व्यापक बहस सिर्जना गरेको छ।