एजेन्सी । अमेरिका–इजरायल र ईरानबीच जारी तनाव पाँचौँ दिनमा प्रवेश गरेको छ। यसबीच संयुक्त राष्ट्रसंघ ९यूएन० को मानवअधिकार कार्यालयले ईरानमा एउटा छात्रा विद्यालयमा भएको आक्रमणको निष्पक्ष र शीघ्र छानबिन गर्न माग गरेको छ। उक्त आक्रमणमा करिब १५० छात्राको मृत्यु भएको बताइएको छ । यद्यपि आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्ने स्पष्ट भएको छैन।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले यस घटनाको तत्काल, निष्पक्ष र पूर्ण अनुसन्धान हुनुपर्ने बताएका छन्। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविना शमदासानीले आक्रमण गर्ने पक्षले नै घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बताइन्।
उनले यस घटनालाई अत्यन्त भयावह भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूले यस द्वन्द्वले निम्त्याएको विनाश र पीडालाई उजागर गरेको उल्लेख गरिन्। उक्त विद्यालय दक्षिणी ईरानमा रहेको र शनिबार आक्रमण भएको बताइएको छ। सोही दिन अमेरिका र इजरायलले ईरानविरुद्ध सैन्य कारबाही सुरु गरेको जानकारी पनि सार्वजनिक भएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सेना जानाजानी कुनै विद्यालयलाई निशाना नबनाउने स्पष्ट पारेका छन्। इजरायलले पनि उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
आर्थिकन्यूज